काठमाडौँ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका बाघ पाइने क्षेत्रमा २१ दिनभित्र बाघ गणना कार्य सम्पन्न हुने गरी कार्ययोजना निर्माण गरिएको छ ।

लक्ष्मीराज जोशी
शुक्लाफाँटा–लालझाडी–जोगबुढा क्षेत्रमा यही शनिवारबाट गणनाको कार्य शुभारम्भ गरिएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण क्षेत्र प्रमुख लक्ष्मीराज जोशीका अनुसार फिल्डस्तरको गणना कार्य आगामी २१ दिनभित्र सम्पन्न गरिने भएको छ ।
जोशीका अनुसार निकुञ्जभित्र चाँदमारी, शुक्लाफाँटा, बेलडाँडी, हिरापुर गरी चार वटा ब्लकमा क्यामरा राखिने भएका छन् ।
त्यसैगरी डिभिजन वन कार्यालय कञ्चनपुर अन्तर्गतको बाघ पाइने क्षेत्रमा तिल्केनी, बेदकोट, दोमिला र डाँडाजाई क्षेत्रमा क्यामरा राखेर बाघ गणना गरिने भएको छ ।
जोगबुढा क्षेत्रमा डिभिजन वन कार्यालय डडेल्धुरा अन्तर्गत आलिताल, नाउला, चिरकोट गरी तीन वटा स्थानमा क्यामरा ट्रयापिङ गरिने जोशीले बताए ।
यी सबै क्षेत्रमा ५२० थान भन्दा बढी आधुनिक क्यामराको प्रयोग गरिने भएको छ भने ७० जना दक्ष प्राविधिक र पाँच वटा हात्तीको प्रयोग गरिने भएको छ ।