मुस्ताङ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले मुस्ताङको कोरला नाकालाई व्यवस्थित, थप सहज र सुरक्षित बनाउने प्रतिबद्धता जनाएका छन् ।
शनिवार तिब्वतको ल्हासाबाट मुस्ताङ प्रवेश गर्नुभएका चिनियाँ राजदुत माओमिङले कोरला नाकाबाट हुने व्यापार, पारवहनलाई व्यवस्थित तथा सुरक्षित बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यही असोज महिनामा आएको बाढीपहिरो र कालिगण्डकी नदी कटानले उत्तर–दक्षिण जोड्ने प्रमुख व्यापारिक मार्ग कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएपछि चीनसँगको निकासी र पैठारीमा प्रत्यक्ष असर परेपछि सात सदस्यीय टोलीको नेतृत्व गरी गरी कोरला नाकाबाट सदरमुकाम जोमसोमसम्म पुगेर राजदुत माओमिङले नाकालाई प्रभावकारी बनाउन चीन सरकारले सबै किसिमका सहयोग गर्ने बताएका छन् ।
राजदुत माओमिङले अध्यागमन, भन्सार कार्यालयसहित उपल्लो मुस्ताङमा रहेका कार्यालयको अवलोकन गरेका छन् ।
आइतबार प्रमुख जिल्ला अधिकारी अजिता शर्मासहित सुरक्षा समितिका सदस्यहरुसँगको भेटघाटमा चिनियाँ राजदूत माओमिङले बाढीपहिरोले चिनियाँ सामान बाटोमा रोकिएको अवस्थामा सहज बनाउन आवश्यक सहयोग बारेमा चासो समेत व्यक्त गरेका छन् ।

नाकाबाट हुने गैरकानुनी गतिविधिलाई रोक्न अन्तरदेशीय समन्वय बैठक, सुरक्षा अधिकारीको संयुक्त गस्तीसहितका कामबाट चिनियाँ पक्षले कोरला नाकालाई बाहै महिना सञ्चालन गर्ने गरी काम गर्न तयार रहेको बताएका छन् ।
चिनियाँ राजदुत माओमिङसहितको सात सदस्यीय टोली मुक्तिनाथ मन्दिरको दर्शन गरी लोमन्थाङ फर्किएको छ । सोमबार कोरला नाकाबाट तिब्वत फर्किएपछि कोरला नाका बारेमा केही निर्णय हुने अनुमान गरिएको छ ।
































