काठमाडौँ । दक्षिण एसियाका वन्यजन्तु अपराध नियन्त्रण तथा कार्यान्वयन निकायहरूको क्षेत्रीय सञ्जाल (सावेन) को महासभा काठमाडौँमा सुरु भएको छ ।
दुई दिनसम्म सञ्चालन हुने महासभा बिहीबार सुरु भएको हो । महासभामा दक्षिण एसियाली मुलुकका वन्यजन्तु अपराध नियन्त्रण तथा संरक्षणसँग सम्बन्धित उच्च अधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ।
महासभामा वन्यजन्तु तथा वनस्पतिको अवैध ओसारपसार, वन्यजन्तु अपराध नियन्त्रण, सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुँदै छ ।

महासभाले वन्यजन्तु अपराध नियन्त्रणमा नेपालले गर्दै आएको प्रयास तथा दक्षिण एसियाली मुलुकबीचको सहकार्यलाई थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सार्कका पाँच देशको प्रतिनिधिको सहभागिता रहेको छ । महासभाले सूचना आदानप्रदान, अन्तरदेशीय समन्वय, क्षमता विकास र नयाँ प्रकृतिका अपराध नियन्त्रणको एजेण्डाका बारेमा व्यापक छलफल हुने बताइएको छ ।






















