मुस्ताङमा हिमपात

जोमसोम । मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्र कोरला नाका आसपासमा शुक्रबार हिमपात भएको छ । दुई दिनदेखिको वर्षा पछि यहाँ हिमपात भएको हो ।

कोरोला नाकास्थित दसगजा क्षेत्रसम्मको सडक पनि हिउँले पुरिएको छ ।


सिमा क्षेत्रबाट करिब १४ किलोमिटर तल रहेको नेपालको भन्सार कार्यालय आसपासका डाँडामा हिमपात भएको भन्सार कार्यालयका सूचना अधिकारी अबिन्द्र सिंहले जानकारी दिए । उनका अनुसार शुक्रबार बिहानाबाट हिउँ पर्न सुरु भएको हो । साँझसम्म बाक्लो हिउँ परिसकेको छ ।


समुन्द्री सतहदेखि चार हजार ६५० मिटर उचाइमा रहेको कोरोला नाकास्थित दसगजा क्षेत्रसम्मको सडक पनि हिउँले पुरिएको छ । सो सडक सिधै उकालो भएकाले लगातार हिमपात भएमा कन्टेनर नाकासम्म जान समस्या हुनसक्ने भन्सार कार्यालयले जनाएको छ ।

वर्षा र हिमपातले यहाँ चिसो ह्वात्तै बढेको छ । भन्सार कार्यालयबाट सदरमुकाम जोमसोम जोड्ने कालीगण्डकी कोरिडोर अन्तर्गत छोसेर–जोमसोम सडकखण्डमा पातलो हिउँ परेकोले बाटो अवरुद्ध भएको छैन ।


मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा रहेको स्वचालित मौसम मापन केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा ३०.५ मिलिमिटर वर्षा मापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here