असारमा जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ । वनस्पति विभागले आगामी असार महिनामा जैविक विविधता तथा जैविक पुर्वावलोकन सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ ।

विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलका अनुसार सम्मेलनको तयारीका लागि विभागले कार्यविभाजन गरी काम गरिरहेको छ ।

जैविक विविधताको अस्तित्व र वंशलाई हानी नोक्सानी नहुने गरी प्राकृतिक स्रोतका सदुपयोग कसरी गर्न सकिन्छ र प्राकृतिक स्रोतको योगदान राष्ट्रिय अर्थतन्त्रमा कसरी बढाउन सकिन्छ भन्ने विषयमा बाह्य मुलुकको अनुभव आदानप्रदान गर्ने उद्देश्यले सम्मेलनको आयोजना हुन थालेको हो ।

विश्वमा कतिपय मुलुकहरुले प्राकृतिक सम्पदामा आधारित औषधी, अत्तर, उपहार तथा सजावटका सामग्री, बास्तुकला, हस्तकला जस्ता महंगा सामानहरु उत्पादन गरी कुल ग्राहस्थ उत्पादनमा ठूलो प्रतिफल लिने गरेका छन् ।

नेपालमा औषधीय गुण भएका प्रशस्त जडीबुटी भएपनि हालसम्म यसको खासै सदुपयोग हुन सकिरहेको छैन । वनस्पति विभागले यस अघि जडीबुटीमा आधारित परफयूम, टुथ पेष्ट, साबुन, सेम्फु लगायतका नमूना उत्पादन गरिसकेको छ तर व्यावसासियक उत्पादन भने हालसम्म हुने सकेको छैन ।
जडीबुटी उत्पादन कम्पनीले सञ्चो लगायतका केही औषधी जडीबुटीमा आधारित भएर उत्पादन गर्दै आइरहेको छ । मुलुकमा उपलब्ध जडीबुटीमा आधारित उत्पादन बढाई मुलुकको राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन सकिने तर्फ विभागले पछिल्ला दिनमा जडीबुटीमा आधारित थप अध्ययन अनुसन्धान गर्दै आइरहेको छ ।


महानिर्देशक डा. बुद्धिसागर पौडेल

यसै सन्दर्भमा विश्वका अरु मुलुकहरुले विकास गरेका प्रविधिसँग साक्षात्कार हुन यो सम्मेलन आयोजना गरिएको महानिर्देशक डा. पौडेलले जानकारी दिए । सम्मेलनमा विश्वका करिब दुई दर्जन राष्ट्रका वैज्ञानिक, विज्ञ, अध्येता तथा अनुसन्धातकर्ताहरुले भाग लिने भएका छन् ।

महानिर्देशक डा. पौडेलले नेपालकथासँग भने, सम्मेलनमा सहभागीहरुको संख्या अझै बढ्ने देखिएको छ । हामीले सहभागिता जनाउने समयलाई केही समय थप गरेका छौँ ।

विशेष गरी जैविक विविधताको सदुयोग गर्ने सन्दर्भमा विश्व बजारमा भएका प्रविधि तथा ज्ञान विकास, अध्ययन अनुसन्धान बारे जानकारी आदान प्रदान गर्ने, प्रविधि र ज्ञानको विकास गरिसकेका मुलुक र ती मुलुकका संस्थाहरुसँग नेपालको संस्थागत सम्बन्ध कायम गर्ने र बाह्य मुलुकले गरेको प्रगति र उपलब्धीलाई अध्ययन गरेर नेपालको नीतिगत सुधारमा सकारात्मक र सिर्जनात्मक काम गर्ने अभिप्रायले सम्मेलन आयोजना गरिएको डा. पौडेलले बताए ।

डा. पौडेलले भने, नेपालमा प्रशस्त मात्रामा भएका प्राकृतिक स्रोतको हामीले अझै सदुपयोग गर्न सकिरहेका छैनौँ । ती स्रोतको उचित संरक्षण गर्दै सदुपयोग गर्न सकेको खण्डमा मुलुकको आर्थिक समृद्धि हुने देखिन्छ । त्यसैले आगामी दिनमा त्यो दिशामा हामीले काम गर्न सक्नु पर्छ । त्यसका लागि बाह्य मुलुकको अध्ययन, अनुसन्धान र प्रविधिको विकास पनि हामीलाई चाहिने भएकाले यस्ता कार्यक्रम गर्न जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here