भाग्यमानी गोपाल : रेञ्जरदेखि महानिर्देशकसम्म

काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले सोमवार पद वहाली गरेका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक तत्कालिन डा.कृष्णप्रसाद आचार्य वन विभागको महानिर्देशकमा सरुवा भएर गएपछि केही समय निमित्त महानिर्देशकको भूमिका पाउनु भएका भट्टराई अवकाश हुने समयभन्दा करिब आठ महिना अघि ‘कन्भफर्म महानिर्देशक’ को भूमिका झुल्किएका छन् ।

आफ्नो कलेज लाइफका केही साथीहरुलाई पछि पार्दै सहसचिव पदमा पुगेका भट्टराई सरल र मृदुभाषी व्यक्तिको रुपमा चिनिन्छन् । बोलेर कसैलाई नबिगारी हाल्ने र मानिसलाई नचिडाएरै काम लिनु पर्छ भन्ने मान्यता राख्ने भट्टराई वन्यजन्तु संरक्षणमा लामो समय काम गरेको अनुभवी व्यक्तिको रुपमा चिनिन्छन् ।

देशमा पञ्चायत विरुद्धको आन्दोलन चलिरहेका बेला पोखरा वन क्याम्पसका विद्यार्थी भट्टराईले २०४६ सालमा विभागकै रेञ्जर पदमा जागिर सुरु गरे । क्याम्पसको ‘राजनीति बिल्ला’ले उनलाई पछिल्लो समयसम्म केही पीडा त दियो तर पनि जागिरे जीवनको उत्तरार्धमा न्यायको तराजु उनकै भागतिर पल्टिन सफल भएको छ । २०४६ सालदेखि रेञ्जर पदमा बस्दा शुक्लाफाँटादेखि पर्सा वन्यजन्तु आरक्षभित्रका वन्यजन्तु र जैविक विविधताको प्रत्यक्ष अवलोकन गर्न पाएका भट्टराईले २०५१ सालमा सहायक संरक्षण अधिकृतको पदोन्नती लिए ।

सहायक संरक्षण अधिकृत पदमा २०५९ सालसम्मको अनुभव सँगाले र उपसचिव पदमा पदासिन हुन पुगे । प्रमुख संरक्षण अधिकृतको रुपमा उनले मकालु बरुण, सगरमाथा र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा बसेर फिल्डको कमाण्डरको भूमिका निर्वाह गरे । फिल्ड नबुझि निकुञ्ज विभागको महानिर्देशक हुनु ‘त्यति राम्रो नहुने’ तर्क गर्नेहरुका लागि भट्टराईसँग उच्च हिमालदेखि तराईसम्मको र रेञ्जरदेखि प्रमुख संरक्षण अधिकृतसम्मको अनुभवको पोको पन्तुरो सुरक्षित रहेको छ । उनलाई अनुभवविहीन कमाण्डर भन्ने आँट कसैले पनि गर्न सक्ने अवस्था छैन । वन्यजन्तु र जैविक विविधतासँगको लामो अनुभवको यात्राले आगामी दिनमा विभागलाई सही कार्यदिशामा हाँक्न र उनी स्वयम्का लागि आफ्नो कार्यकाल सफल बनाउन र सबैले मननयोग्य डिजी हो भन्न सक्ने अवसर प्रदान गर्ने पहिलो आधार बन्न सक्छ ।

२०७३ साल मंसिर ६ गते महानिर्देशकका रुपमा पद बहाली गरेका अघिल्ला महानिर्देशक मनबहादुर खड्काले गत यही असोज २ गते बिहीवार बिदाई लिएपछि विभागको जिम्मेवारी सम्हालेका भट्टराईले आफु सफल हुनका लागि ज्योतिषलाई देखाएरै आइतवारको सट्टा सोमवार पदवहाली गरेका हुन सक्छन् । बिहीवार खड्काको बिदाई, ३ गते संविधान दिवसको सार्वजनिक विदा अनि शनिवार पर्दा आइतवार पदवहाली गर्न सकिने रविवारे समयलाई छल्दै भट्टराईले शुभ कार्यका लागि सोमवार रोज्नु भएको होला । आर्थिक मामिलामा तुलनात्मक रुपमा पारदर्शी छवीमा देखिएका भट्टराईलाई सगरमाथा राष्ट्रिय निकुञ्जमा बस्दाको केही तितो अनुभव त छ नै । तर पनि जीवन नै सिकाई र भोगाईको कुलो भएकाले आगामी दिनमा कुलोमा सफा र स्वच्छ पानी बगाउने प्रयत्नका लागि उनका सबै प्रयासहरु हुने आशा र अपेक्षा राख्न सकिन्छ ।

मनबहादुर खड्का महानिर्देशक हुँदा ‘उत्तरार्धको बोनस’का रुपमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय उडान भर्ने राष्ट्रसेवक भट्टराई पनि हुन । अब आफ्नो हातमा डाडु पन्यु भएपछि विभागमा बसेर अवसर पाउन नसकेका पछिल्ला होनहार पिढीमाथि भट्टराईले ‘न्यायको प्रसाद’ बाँड्ने अपेक्षा गरिएको छ । अवसर र जिम्मेवारीको लागि निश्चित मापदण्ड निर्माण गरेर समन्यायको सिद्धान्तका आधारमा बाँडफाँट हुने परिस्थितिलाई संस्थागत गर्न सके अरुले उनको कार्यकाल सफल भएको देख्लान् वा नदेख्लान्, तर विभाग भित्रको पछिल्लो पुस्ताले उनको गुणगान गाई राख्नेछन् ।

२०७२ सालमा उपसचिवबाट सहसचिव भएका भट्टराईका दौतरी कोही पलायनै भए, कोही सेवा निवृत भएर पनि लठ्ठी टेक्दै कहिले जोमसोम त कहिले पर्सा पुगेका देखिन्छन् । चार वर्षसम्म उपमहानिर्देशकको सफल जिम्मेवारी वहन गर्नु भन्दा पहिला उनलाई बीचमा आइलागेको निमित्तको खुट्किलाबाट कन्भफर्ममा उक्लिन झण्डै तीन वर्ष लाग्यो ।
सिँहदरबार भित्रका ज्योतिषले भट्टराईको हातको रेखा हेर्दा त्यति भाग्यमानी त ठान्दैनन् तर पनि उनी स्वयम् भाग्यमानी व्यक्ति हुन् । अघिल्लो कार्यकालका एक ज्योतिषले भविष्यबाणी गरेको कुरा टुप्लुक्क उनको अगाडी आइपुगेको छ । ती अवकाश प्राप्त ज्योतिषले त्यति बेला भनेका थिए, गोपालजी तपाईलाई यो पटक सकिएन, समय छ, घर जानु अघि महानिर्देशकको फुली पक्कै लाग्छ ।

भट्टराई लगायतका विभागका केही असल क्याडरहरुको भाग्यका बारेमा कुरा चल्दा विभागबाट अलग भइसकेका नरेन्द्र प्रधान, शिवराज भट्ट, झमक कार्की, तुलसी शर्मा जस्ता गुनी व्यक्तिको गुन बिर्सन हुन्न जस्तो लाग्छ । त्यसैले पनि भट्टराई एक भाग्यमानी रेञ्जर हुन्, जसले सपना त मन्त्रालयको सचिवको लिएको थिए होला तर पनि महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका छन् ।

वन क्याम्पस पोखरा हुँदै नेदरल्याण्ड र देहरादुनसम्मका दौतरी कोही अघि छन् कोही पछि छन् । दिपक खराल, प्रेम कँडेलले विभाग सम्हालेर प्रदेशको मन्त्रालय सम्हाली रहेका छन् भने विनोद देवकोटा, प्रेम पौडेल, पशुपति कोइराला लगायतका मिल्ने साथीहरु पछि पछि आउँदै गरेका छन् । कोही अघि हुनु र कोही पछि हुनु त कर्मको पनि खेल हुने गर्छ तर पनि बिएसस्सीमा वन्यजन्तु व्यवस्थापनको विषय लिएर पढेका साथीभाई राज्यले दिएको यो जिम्मेवारी वहन गर्दाका बखत सहयोगीका रुपमा कोही छैनन् ।

भट्टराई हाल विभागभित्र कार्यरत वन्यजन्तु व्यवस्थापनको पढाई गरेका औलामा गनिने उच्च अधिकारीभित्र पर्छन् । महानिर्देशकका निकट सहयोगी उपमहानिर्देशक डा.रामचन्द्र कँडेल, पाको उमेरका युवराज रेग्मी लगायतका केही व्यक्तिसँग मात्रै वन्यजन्तु व्यवस्थापनको विश्वविद्यालयको शिक्षा छ ।

वन्यजन्तु व्यवस्थापनको विश्वविद्यालय पाठ्यक्रम रटेका भट्टराई अघिल्ला महानिर्देशक खड्कालाई सफल बनाउन रातोदिन खटे, अर्का उपमहानिर्देशक डा. कँडेलले पनि काँध थापे तर अहिले भट्टराई एक्लो उपमहानिर्देशक भएको विभाग हाँक्न पुगेका छन् । यो उनको ठूलो चुनौती हो । उसो त विभागमा युवराज रेग्मी, बेदकुमार ढकाल, हरिभद्र आचार्य, कमलजंग कुँवर, श्याम साह, बिष्णुप्रसाद श्रेष्ठ जस्ता अनुभवी र सुदूर भविष्य भएका टीमले साथ दिने प्रण गरेका छन् ।

योजनाको भारी भट्टराईको काँधमा

२०७६ सालभरी विभागको बागडोर सम्हालेर नयाँ वर्ष २०७७ सालमा बिदाई लिने तरखरमा बसेका भट्टराईको चालु आर्थिक वर्षको बजेट निर्माणमा ठूलो योगदान रहेको छ । त्यसैले विभाग र मातहतका निकायका बजेट कार्यान्वयनमा उनलाई सहज हुनेछ । बजेटको सफल कार्यान्वयन गराउनु उनको ठूलो सफलता हुन जान्छ । आगामी वैशाखसम्म बस्ने भएकाले यो वर्ष पुरा हुन नसकेका कामलाई आउने वर्षको लागि पाइप लाइनमा उनले सहजै राख्न सक्छन् र आफ्ना सपना आफु नहुँदा पनि पुरा गराउने वातावरण निर्माण गर्न सक्छन् ।

संरक्षण साझेदार संस्थाको रोजाईमा पर्ने व्यक्ति भट्टराई हुन् । उनको व्यक्तिगत सम्बन्ध यस अघि पनि सबै साझेदार संस्थाका पदाधिकारीसँग राम्रो छ । संरक्षणका कामलाई अझ प्रभावकारी बनाउन उनले पुरानो सम्बन्धलाई थप उचाईमा पुर्याएर कुनै संरक्षित क्षेत्रमा प्रजातिका विशेषको मोडल कार्यक्रमका रुपमा विकास गर्न सक्छन् ।

नाम वन्यजन्तु संरक्षण विभाग, वन्यजन्तुका प्रजाति विषय विशेषज्ञ विहीन विभाग छ । हात्ती, बाघ, गैँडाको विशेषज्ञको जागिर नभएको विभागले संरक्षणमा यति ठूलो प्रगति गरिराखेको छ भने यदी एक, एक जना विशेषज्ञ भएको भए अझ सुनमा सुगन्ध हुन्थ्यो होला । त्यसैले अब बन्दै गरेको ओएनएममा ती प्रजाति विशेषज्ञको दरबन्दी सिर्जना गराउनका लागि उनको भूमिका अहम् हुन सक्छ ।

वनको जागिर सः मिलमा । निकुञ्जको जागिर बाघ खोरमा । एक जना पूर्व वन मन्त्रीले आफ्नो अनुभव सुनाएका थिए । यो अनुभव पक्कै पनि भट्टराईले गरेकै हुनु पर्छ । त्यसैले २४ घण्टा बाघ खोरमा तैनाथ हुने निकुञ्जको कर्मचारीलाई आठ घण्टाको तलबले दोहन गरिरहेको छ । तैनाथीको आधार देखाएर अर्थ मन्त्रालयका लोभीपापीका अगाडि टेबुल ठोक्नु सक्नुपर्छ ।

चितवनबाट होटल त्यसै हटाइएका होइनन् होला । सुन्दा झिनो र मसिनो भएपनि संरक्षणको दफावार छलफलमा ‘हटाउनुको तर्कले दमदार वहस’ ल्याउन्छ । वन मन्त्रालयको सुप्रिमो संरक्षणप्रति एक बित्ता पनि हिड्ने बाला छैन बरु दोहन गरौँ भन्दा १२ हात उफ्रिन तयार छ । त्यसैले देखाउने दाँत जे भएपनि फेरी अपारदर्शी ढंगले निकुञ्जभित्रै होटल राख्ने बहसमा पक्षका तर्फबाट औला ठड्याउने वकिलका बिरुद्धमा निकुञ्जको बर्दी डगमगाउन नदिने प्रण भट्टराईले गर्न सक्छन् । इतिहासले धेरै पटक पूर्व महानिर्देशक उप्रेती र मास्के साफलाई जुन गुन र गतिले सम्झिरहेको छ । यदी भट्टराई डग्मगाएनन् भने उनलाई पनि बेला बेला पछिल्लो पुस्ताले सम्झिने छ ।

मध्यवर्ती क्षेत्र भित्र राजनीति गर्ने धेरै ब्वाँसाहरु देखिन थालेका छन् आजकल । संरक्षणको जिम्मेवारीमा बसेका केही निकुञ्जका बर्दीधारीहरु ब्वाँसाले खाने भात, भान्सामा जान थालेको गन्ध यदाकदा सुन्न पनि पाइन्छ । मध्यवर्तीको स्रोतको दोहन ती वन्यजन्तु पीडितका लागि हो भन्ने भावना पनि बिर्सेर भात, भान्साको लहलहमा लाग्ने मति भ्रष्टलाई ठिक पार्न सक्ने क्षमता भट्टराईले राखुन् ।

अहिले नेपालको संरक्षणको उडानको अघिल्लो सिटमा रेञ्जरबाट पदोन्नती हुँदै सचिव डा. विश्वनाथ ओली र रेञ्जरबाट खारिएका भट्टराईको नेतृत्वमा भइरहेको छ । अनुभवी तथा विज्ञताको यो पाइलट टीमले नेपालको संरक्षण क्षेत्रको संक्रमणकालको उडान सफल अवतरण गर्नेछ भन्ने विश्वास गर्न सकिन्छ ।

1 COMMENT

  1. …वधाइ तथा सफल कार्यकालको शुभकामना, सर…
    सवैको मँगल होस्…
    #नागरिकअडिट #नागरिकAudit #KNOWLEDGEdemocracy #मेरो२पैसो

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here