जलवायु विश्व सम्मेलन सुरु : नेपाली मण्डप उद्घाटन

अन्ताल्या । टर्कीको पर्यटकीय शहर अन्ताल्यास्थित विश्व जलवायु सम्मेलन कोप–३१ सुरू भएको स्थलमा नेपाल मण्डप (पेभिलियन) को उद्घाटन गरिएको छ ।


नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका परराष्ट्रमन्त्री शिशिर खनालले सम्मेलन स्थलमा नेपाल मण्डपको उद्घाटन गरेका छन् । सो अवसरमा उनले जलवायु न्याय सुनिश्चित गर्न, जलवायु परिवर्तनबाट हुने हानि तथा नोक्सानी कोषमा प्रभावित देशहरूको सहज पहुँच स्थापित गर्न र हिमाली क्षेत्रलाई सुरक्षित बनाउन अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका हुन् ।

उनले बढ्दो विश्व तापक्रम र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ, हिमनदी र जमेको पानीको प्रणालीमा देखिइरहेका परिवर्तनप्रति चिन्ता समेत व्यक्त गरेका छन् । मन्त्री खनालले नेपालमा हालै रसुवा भोटेकोशी क्षेत्रमा भएको विनाशकारी विपद हिमालयन सुनामी भएको तर्क प्रस्तुत गरे ।


कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रका अनुसार नेपालको जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता, जैविक विविधता संरक्षणमा भएका उपलब्धि र समुदाय स्तरमा सञ्चालन गरिएका अनुकूलनका प्रयास अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले सम्मेलन स्थलमा नेपाल मण्डल स्थापना गरिएको हो ।

नेपाली मण्डलमा विज्ञ, दातृ निकायका प्रतिनिधि तथा नेपालका शुभेच्द्धुक विदेशी बोलाएर नेपाली टोलीले कोपमा उठाउने एजेण्डा मार्फत नेपालले जलवायु परिवर्तनको जोखिम, त्यससँग जुध्न गरिएका प्रयास र अन्तर्राष्ट्रिय सहयोगका आवश्यकता प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here