चार वटा हिमतालको जोखिम न्यूनीकरण गर्न सञ्जिवनी परियोजना सुरु

काठमाडौँ । बिभिन्न अध्ययनले अत्यन्तै जोखिम परेका देखिएका बिभिन्न चार वटा हिमतालको जोखिम न्यूनीकरण गर्न सरकारले ग्लफ सञ्जिवनी आयोजना सञ्चालनमा ल्याएको छ।

सो परियोजना सन् २०२६ बाट सुरु भएर सन् २०३३ सम्म सञ्चालन हुने भएको छ ।

ग्रिन क्लाइमेट फण्डको आर्थिक सहयोगमा चार वटा तालको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले चार करोड ९९ लाख ४० हजार अमेरिकी डलरको परियोजना सञ्चालनमा ल्याएको हो ।


सो परियोजनाको शुभारम्भ बुधबार एक कार्यक्रमकाबिच भयो । परियोजनाले मनाङको नासो गाउँपालिकामा रहेको डोना हिमताल, सोलुखुम्बुमा रहेको लुमडिङ त्सो र होङ्गु हिमतालको पानी तीन मिटर र सङ्खुवासभामा रहेको तल्लो बरुण हिमतालको पानी एक मिटर घटाउने काम गर्ने भएको छ ।

उच्च जोखिमका रहेका यी चार वटा हिमतालबाट प्रभावित हुने तल्लो तटीय क्षेत्रका तीन लाख ८५ हजारभन्दा बढी स्थानीयको जीवन रक्षाका लागि नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमद्वारा सञ्चालन हुने परियोजनाको नाम ग्लोफ सञ्जीवनी दिइएको छ ।


परियोजनाका राष्ट्रिय निर्देशक डा.राजन भट्टराईले परियोजना बारे शुभारम्भ कार्यक्रममा जानकारी दिए । उनका अनुसार परियोजना सञ्चालनका लागि क्लाइमेट फन्डबाट तीन करोड ६१ लाख ६० हजार अमेरिकी डलर अनुदान प्राप्त भएको छ ।

आयोजना सञ्चालन गर्न नेपाल सरकारबाट एक करोड १३ लाख २० हजार अमेरिकी डलर, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडिपि) बाट २१ लाख ४० हजार अमेरिकी डलर र निजी क्षेत्रका साझेदारहरूबाट तीन लाख २० हजार अमेरिकी डलर सहलगानी जुटाइएको जानकारी डा. भट्टराइले दिए । सो परियोजना सन् २०२६ बाट सुरु भएर सन् २०३३ सम्म सञ्चालन हुने भएको छ ।


आयोजनाबाट तीन लाख ८५ हजारभन्दा बढी स्थानीय व्यक्ति प्रत्यक्ष लाभान्वित हुने भएका छन् भने जोखिमका रहेका चार वटा तालका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने करिब २० लाख घरपरिवार सुरक्षित हुने अपेक्षा गरिएको छ ।


परियोजना ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मार्फत कार्यान्वयन हुनेछ । त्यसैगरी आयोजना कार्यान्वयन गर्ने निकायमा चुरे तथा अति संवेदनशील जलाधार संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण पनि रहेको सो अवसरमा जानकारी दिइयो ।


परियोजना कार्यान्वायनमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहको प्रत्यक्ष सहभागिता रहने सो अवसरमा जानकारी दिइयो । शुभारम्भ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा ऊर्जा आयोग सचिवालयका सचिव नवीनराज सिंहले जोखिमका रहेका हिमतालबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न नेपाल सरकार सबै किसिमका रणनीति अपनाएर काम गरिरहेको बताए ।

ग्रिन क्लाइमेट फण्ड सचिवालयका जलवायु लगानी प्रमुख डा. बाप्पोन फखरुद्दीनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा पर्दै आएको बताउँदै चार वटा हिमतालको जोखिम न्यूनीकरणको काम निर्धारित समयमा सक्न आग्रह गरे । परियोजना कार्यान्वायनका जिम्मेवारी पाएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका कार्यकारी प्रमुख सञ्जिव बरालले आयोजना निर्धारित समयमा सफल बनाउन तीन वटै तहका सरकार, स्थानीय समुदाय जिम्मेवारीका साथ लाग्नुपर्ने बताए ।


सो कार्यक्रममा नेपालका लागि यूएनडिपिका आवासीय प्रतिनिधि क्योको योकोसुकाले यो परियोजनालाई नेपालको रोलमोडलका परियोजना बनाउन आग्रह गरिन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी डा. धर्मराज उप्रेतीले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न हिमाल र हिमतालसँग सम्बधित पूर्वसूचना प्रणालीलाई सुदृढ पार्नुपर्ने बताए ।

चुरे तथा अति संवेदनशील जलाधार संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले वातावरणमैत्री संरचना निर्माण आजको आवश्यकता भएको धारणा राखे । सो अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालले हिमतालको जोखिम न्यूनीकरकण गर्न निकुञ्ज विभाग, विभाग अन्तर्गत रहेका निकाय र मध्यवर्ती क्षेत्रका बासिन्दाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कोशी प्रदेश वन मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटाले परियोजना निर्धारित समयमा सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट सबै किसिमको सहयोग र समन्वय हुने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here