नागरिक विकास सम्वाद : हरित विकासमा जोड

काठमाडौँ । गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढी जस्तै भविष्यमा कुनै पनि बेला अरु प्राकृतिक महाविपत्ती आउन सक्ने तर्फ सचेत हुन विज्ञहरुले सुझाव दिएका छन् ।


गैरसरकारी संस्था महासङ्घद्वारा शनिबार काठमाडौँमा आयोजना गरिएको राष्ट्रिय विकास सम्वाद २०२६ मा सहभागी विज्ञ वक्ताहरुले नेपाल जलवायु परिवर्तनको अन्यन्तै जोखिममा रहेको मुलुक भएकाले भविष्यमा पनि यस्ता खालका विपत्ती आउन सक्ने तर्फ सचेत भई पूर्व तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।


सम्वादमा प्राकृतिक विपत्ती आउनु अघि समुदायलाई सचेत पार्न र विपत्तिपछि तत्काल राहत, उद्धार, राहत वितरण तथा पुर्ननिर्माण र पुर्नस्थापनामा गैरसरकारी संस्थाहरुको अहम् भूमिका हुने कुरामा पनि जोड दिइएको छ ।


जलवायु परिवर्तनको जोखिमका दृष्टिले उच्च सूचीमा रहेको नेपालमा विकासको मोडल पनि परिवर्तन गर्नुपर्नेमा जोड दिइएको छ । सम्वाद कार्यक्रममा बोल्ने अधिकांश विज्ञवक्ताहरुले सडक तथा वस्ती विकास, जलविद्युत् तथा अन्य भौतिक पूर्वाधार विकासका कामहरु गर्दा रसुवा भोटेकोशीबाट पाठ सिक्नुपर्ने बताएका छन् ।


सम्वाद कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा.देवेन्द्र गौचनले प्राकृतिक विपत्तीका घटनामा नागरिक समाज, गैरसरकारी संस्थाको प्रभावकारी र सक्रिय सहभागिता रहँदै आएको र आगामी दिनमा नागरिक समाजको दायरा बढाउनुपर्ने बताए ।


डा. गौचनले भने, “महाविपत्तीका बेला सरकार एक्लैले सबै कुरा गर्न सक्दैन । अहिले क्लाइमेट एक्सनको आवश्यकता छ । नेपालले ग्रिन रिकभरी र ग्रिन रिबिल्डिङका लागि काम गर्नुछ । त्यसका लागि सरकारसँग गैरसरकारी संस्थाको बलियो साथ चाहिएको छ ।”


सम्वाद कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.धर्मराज उप्रेतीले प्राकृतिक विपद् पछिको पुर्ननिर्माण र पुर्नस्थापनाका काममा सरकारले गैरसरकारी संस्थाको भूमिका बढाउन आग्रह गरिरहेको जानकारी दिए ।


उनले केही दिनभित्रै सरकारले रसुवा भोटेकोशीको पुर्ननिर्माण र पुर्नस्थापनामा गैर सरकारी संस्थाको दायरालाई बढाएर सरकारसँग हातेमालो गर्न आह्वान गर्ने बताए ।


जलवायु विज्ञ डा. सम्झना विष्टले जलवायु परिवर्तनको जोखिम बढेसँगै हरित विकासका लागि लाग्नुपर्ने बताइन् । उनले भनिन्, “आउँदा दिनमा हाम्रा विकासका मोडल पनि परिवर्तन गर्न जरुरी छ । समुदायको जलवायु उत्थानशिलताका लागि गैरसरकारी संस्था, नागरिक समाजको भूमिकाको दायरा अझै बढेको छ ।”

गैरसरकारी संस्था महासङ्घका अध्यक्ष अर्जुन भट्टराईले जलवायु परिवर्तनको जोखिममा रहेको नेपालले जलवायु न्याय पाउनु पर्ने बताए । भट्टराइले नेपालभित्र अन्तरपुस्ता सम्वाद र छिमेकी मुलुक चीन र भारतका नागरिक समाज, गैरसरकारी संस्थाहरुसँग सहकार्य र समन्वयका लागि सम्वादको सुरुवात गरेको जानकारी समेत दिए ।


अध्यक्ष भट्टराईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा महासङ्घले जलवायु न्यायको लागि आवाज उठाउँदै आएको बताउँदै संयुक्त राष्ट्र सङ्घ जलवायु विश्व सम्मेलन (कोप ३१) मा नागरिक समाजका तर्फबाट नेपालले जलवायु न्याय पाउनु पर्ने कुरा जोडदार ढङ्गले उठाएको जानकारी दिए ।


सम्वाद कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले जलवायु परिवर्तनका कारण भएका महाविपत्तीबाट नागरिकका सबै अधिकार खोसिएको बताए । सम्वाद कार्यक्रममा जलवायु विज्ञ, अनुसन्धानकर्ताहरुको सहभागिता रहेको छ ।


यहाँ आयोजित राष्ट्रिय विकास सम्वादले नेपाल सरकारलाई सहयोग गर्न जलवायु विज्ञ, पुर्ननिर्माण विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्तालाई समेटेर ग्रिन एलाइन्स टोली निर्माण गर्ने जानकारी महासङ्घले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here