काटमाडौँ । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय विश्व सम्मेलनको २८ औँ संस्करण ( कोप २८ ) को लागि नेपालको तयारी अन्तिम चरणमा पुगेको छ ।
वन तथा वातावरण मन्त्रालयका अनुसार यस पटकको कोपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको नेतृत्व गर्ने भएका छन् । प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरण मन्त्री डा. बीरेन्द्र महतो, मूख्य सचिव बैकुण्ठ अर्याल, वन सचिव डा. दीपक कुमार खराल, परराष्ट्र सचिव सहित सदस्य रहने भएका छन् ।
कोपको उच्च राजनीतिक सम्मेलनमा भाग लिएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्केपनि कोपका सबै कार्यक्रममा वन मन्त्री महतोले नेतृत्व गर्ने कार्यक्रम तय भएको छ । यस पटकको कोपमा नेपालले जलवायु परिवर्तनले पारेका असर, अनुकुलनका सफल कार्यक्रम र नेपालका तीन वटै सरकारले गरेका समन्वयकारी योजनाका बारेमा विश्व समुदायलाई देखाउने भएको छ । त्यसका लागि सम्मेलनस्थलमा नेपालले विशेष ठाउँ ( पेभिलिएन ) पनि लिएको छ ।
नेपालको सन्दर्भसँग जोडिन चाहाने विश्व समुदायलाई आफूले गरेका कार्यक्रम तथा योजना प्रर्दशन गर्नका लागि लिइएको विशेष ठाउँको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने कार्यक्रम रहेको छ । यही नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म सञ्चालन हुने सम्मेलनमा डिसेम्बर २ का दिन प्रधानमन्त्री प्रचण्डले सरोकारवालाहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन जलवायु परिवर्तनको असर नेपालको स्वास्थ्य क्षेत्रमा के कस्तो रुपमा परिरहेको छ भन्ने विषयमा साइट इभेन्ट हुने भएको छ ।
अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था ( इमि) ले जलवायु परिवर्तनले नेपालको पानी आपूर्ति र सरसफाई क्षेत्रमा देखा परेका चुनौती विषयमा कार्यक्रम गर्ने भएको छ । प्राक्टिकल एक्सन र मसिक्रप्स संस्थाको आयोजनामा जलवायु परिवर्तनले भएको क्षति र हानी नोक्सानीमा नेपालको अवस्था र आवश्यकता विषयमा सोही दिन कार्यक्रम सञ्चालन हुने कार्यक्रम तय भएको छ ।
त्यसैगरी डिसेम्बर ४ मा जलवायु वित्त र नेपालका अवस्था, लैङ्गिक तथा जलवायु परिवर्तन रणनीति र कार्ययोजनाको कार्यान्वयन विषयमा वन तथा वातावरण मन्त्रालयले साइड इभेन्ट गर्ने भएको छ । सोही दिन अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्था ( इमि) ले जलवायु परिवर्तनको चुनौतीलाई सम्बोधन गर्न दक्षिण एसियाली मुलुकको सहकार्य र साझा रणनीति बारे कार्यक्रम आयोजना गर्ने भएको छ ।
डिसेम्बर ५ मा विश्व वन्यजन्तु कोषले नेपालमा नवीकरणीय ऊर्जाको उत्पादन र प्रयोगको सम्भावना बारे साइड इभेन्ट गर्ने भएको छ भने डिसेम्बर ६ मा उद्योगधन्दा र यातायातमा ऊर्जाको प्रयोग र सम्भावना विषयमा कार्यक्रम आयोजना हुने भएको छ । त्यसैगरी सोही दिन इसिमोड र इमिको संयुक्त आयोजनामा सौर्य ऊर्जा विषयमा साइड इभेन्ट आयोजना हुने कार्यक्रम तय भएको छ ।
डिसेम्बर ८ मा युनेस्कोको आयोजनामा आदिवासी जनजाति र जलवायु परिवर्तनको प्रभाव लगायतका कार्यक्रम आयोजना गरिने भएका छन् । सम्मेलन तयारी समितिका सदस्य राजन थापाका अनुसार यो पटक नेपालले पेभिलियन समेत लिएको हुँदा नेपालको अनुभव आदानप्रदान गर्न र क्षेत्रीय समन्वय तथा सहयोगका लागि यो कोप फलदायी हुने छ ।