बर्दिया राष्ट्रिय निकुञ्जभित्र भुरीगाउँ तेलपानी वन पथ निर्माण हुने

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको भाग भुरीगाउँ देखि सुर्खेतको तेलपानीसम्म वन पथ निर्माण गरिने भएको छ ।
सो क्षेत्रमा वन पथ निर्माणले संरक्षणमा थप टेवा पुग्ने विश्वास गरी वन तथा वातावरण मन्त्रालयले यो कामको सुरुवात गरेको बताएको छ ।


सुर्खेतको तेलपानीको बासिन्दाले लामो समयदेखि महेन्द्रराजमार्गसम्म जोड्ने बाटोको माग गरिरहेका बेला वन तथा वातावरण मन्त्री डा. बीरेन्द्रप्रसाद महतोले सो वनपथको शिलान्याश गरेका छन् ।


सो बाटोलाई वन पथको रुपमा विकसित गरी बर्दियाको अम्रेनीदेखि सुर्खेतको तेलपानीसम्म आवातजावत गर्नका लागि सहज हुने विश्वास मन्त्रालयले लिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामका अनुसार सो वनपथ निर्माण भएपछि तेलपानीको बासिन्दाको राजमार्गसम्म सहज आवातजावत हुने र चोरी शिकार नियन्त्रणका लागि निकुञ्ज प्रशासनलाई पनि नियमित अनुगमन गर्न सहज हुनेछ ।


अम्रेनीदेखि तेलपानीसम्म २७ किलोमिटरको २५ किलोमिटरसम्म ट्रयाक खोल्ने काम केही समय पहिले भएपनि हाल सो बाटो पुनः बन्जर भएको बताइएको छ । अब सबै भागमा ट्रयाक खोल्नुपर्ने अबस्था रहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।


बर्दियाको भूरीगाउँदेखि ढाडबास, धरमपानी हुँदै सुर्खेतको तेलपानीसम्म राजमार्गस्तरको बाटो बनाउन २०६८ सालमा सडक विभागले तत्कालिन वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गराई काम गर्न सुरु गर्न थालेपछि वातावरणीय विकास तथा कानूनी मञ्चले बर्दिया राष्ट्रिय निकुञ्जभित्रको वन्यजन्तुको बासस्थानमा क्षति पुग्ने भएकाले सो कार्य रोक्नका लागि मुद्धा दायर गरेको थियो ।


सर्वाेच्च अदालतका तत्कालिन न्यायाधीशद्वय दामोदरप्रसाद शर्मा र प्रकाश वस्तीको संयुक्त इजलासले भूरीगाउँदेखि तेलपानीसम्मको सडक निर्माणका लागि गरेको वातावरणीय प्रभाव मूल्याङ्कनमा त्रुटी देखिएको ठहर गरेको थियो । तत्कालिन वातावरण मन्त्रालयले २०६८ साल भदौ ५ गते गरेको इआइएलाई बदर गर्दै सरोकारवाला निकाय वन तथा भूसंरक्षण मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको राय, सल्लाह, सुझाव नलिइकन गरेको काम तत्काल रोक्न आदेश दिएको थियो ।


सो आदेशमा सो सडक निर्माण गर्नै पर्ने आवश्यकता भए वन मन्त्रालय र मातहतको निकायको राय लिएर मात्र काम गर्न भनिएको थियो । तत्कालिन सडक विभागले गरेको इआइएमा निकुञ्जभित्रका १६ हजार ३९९ रुखहरु काट्नुपर्ने देखाइएको थियो । अब निर्माण हुने वनपथमा खासै रुख कटान नगरिकनै काम गर्न सकिने गरी काम अघि बढाइने भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोकले बताए ।


उनले नेपालकथासँग भने, बाटो निकुञ्जलाई पनि चाहिएको छ, तेलपानीको बासिन्दाको लागि पनि हुने भएकाले वन पथ निर्माण गर्दा विन विन अवस्था हुन्छ । सडक विभागले परिकल्पना गरेको राजमार्ग बनाउनुभन्दा वन पथ निर्माण गर्दा संरक्षणमा झन सहज हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here