काठमाडौँ । यस वर्षको सामुदायिक वन दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा उपस्थित सरोकारवालाहरु वन जंगल पालेर मात्र होइन, वैज्ञानिक तरिकाले सदुपयोग गरेर मुलुकलाई समृद्धितिर लैजानु पर्ने कुरामा सहमत जस्तै देखिए ।
वन तथा भूसंरक्षण विभागद्वारा आयोजना गरिएको सामुदायिक वन दिवस तथा राष्ट्रिय पुरस्कार वितरण मूल समारोहमा उपस्थित सबै वक्ताहरुले मुलुकले समृद्धिको दिशा समातिरहेका बेला वनजंगल संरक्षण गरेर मात्र नहुने बरु प्राकृतिक स्रोतको सदुपयोग गरी कुल ग्राहस्थ उत्पादनमा वन क्षेत्रको योगदानको दायरा बढाउनुपर्ने कुरामा जोड दिए ।
मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले मुलुक समृद्धिको दिशातर्फ गइरहेका बेला वनक्षेत्रको योगदान महत्वपूर्ण हुने भन्दै वनजंगल संरक्षणको कार्यभार पूरा गर्नुको साथसाथै सदुपयोग पनि गर्नुपर्ने बताए ।

वनजंगलको संरक्षणको जिम्मा पहिलो पटक समुदायलाई दिएको अवसर पारेर हरेक वर्ष सरकारले सामुदायिक वन दिवस मनाउँदै आएको छ । २०३० सालमा सिन्धुपाल्चोकको ठोकर्पा गाउँका बासिन्दालाई तत्कालिन सरकारले गाउँ पञ्चायतका प्रतिनिधिलाई राखेर वनजंगलमा वृक्षरोपण गरी संरक्षण गर्ने जिम्मा दिएको थियो । यो अवधिमा मुलुकभर अहिले २३ हजार भन्दा बढी सामुदायिक वन समुहले वनजंगलको संरक्षण गरिरहेका छन् ।
कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन सम्पदालाई मुलुकको प्रमुख आयआर्जनको साधन बनाउनुपर्ने बताइन् । उनले भनिन्, वन संरक्षण गरेर मात्र भएन, यसको सदुपयोग पनि उचित ढङ्गले गर्न सक्नुपर्छ । मन्त्री चौधरीले आगामी दिनमा कृषि र वनलाई सँगै जोडेर हरित अर्थतन्त्रको विकासमा लाग्नुपर्ने बताइन् ।

मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले मुलुक समृद्धिको दिशातर्फ गइरहेका बेला वनक्षेत्रको योगदान महत्वपूर्ण हुने भन्दै वनजंगल संरक्षणको कार्यभार पूरा गर्नुको साथसाथै सदुपयोग पनि गर्नुपर्ने बताए ।
कार्यक्रममा वनविज्ञ डा राजेशकुमार राईले सामुदायिक वनको हरित अर्थतन्त्रमा योगदान : दीगो वन व्यवस्थापन, वन उद्यम र जलवायु उत्थानशिलता विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनल आफ्नो कार्यपत्रमा रुख काटौँ र धनी बनौँ भन्ने अवधारणा सार्वजनिक गरे ।

उनले वनलाई सम्पत्ती होइन पूँजी मानेर काम गर्नुपर्ने बेला आइसकेको बताए । वनजंगललाई सम्पत्ती मानेर संरक्षण मात्र गर्दा आगलागी हुने, बाढी पहिरोले क्षति गर्ने र गुणस्तर समेत घट्ने तर पूँजीमा रुपान्तरण गर्न सके यसले समुदाय, समाज र समग्र मुलुकको आर्थिक उन्नतीमा योगदान दिन सक्ने भएकाले दीगो वन व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा मन्त्री चौधरी, सचिव मिश्र र वन तथा भूसंरक्षण विभागका महानिर्देशक धिरेन्द्रकुमार प्रधानद्वारा नीजि वन राष्ट्रिय पुरस्कार, कबुलियती वन राष्ट्रिय पुरस्कार, साझेदारी वन राष्ट्रिय पुरस्कार पाउने व्यक्ति, सामुदायिक वन उपभोक्ता समुहलाई वितरण गरियो ।

त्यसैगरी देशभरीमा उत्कृष्ट संरक्षणका काम गर्ने बिभिन्न पाँच वटा सामुदायिक वनलाई गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार वितरण गरियो ।
सो अवसरमा मन्त्री चौधरीले वन क्षेत्रको जग्गा अन्य प्रयोजनका लागि उपलब्ध गराइने विवरण सम्बन्धी सफटवेयर, वन प्रमाणिकरण प्रणाली सम्बन्धी सफटवेयरको शुभारम्भ गरिन् । त्यसैगरी मन्त्री चौधरी र मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले जलाधार एटलास, तराई भूपरिधि रणनीति तथा कार्ययोजना र सामुदायिक वन बुलेटिन विमोचन गरे ।































