काठमाडौँ । ५२ औँ भूसंरक्षण दिवसका अवसरमा लामो समयदेखि भूसंरक्षण तथा जलाधार व्यवस्थापनमा काम गर्दै आएका बरिष्ठ जलाधारविज्ञ केशरमाथ स्थापितलाई सम्मान गरिएको छ ।
भूसंरक्षण लगायत समग्र जलाधार व्यवस्थापनका कामहरुलाई थप प्रभावकारी बनाउन मन्त्रालयले नयाँ संरचना निर्माण गर्न थालेको

स्थापितले तत्कालिन भू तथा जलाधार संरक्षण विभागको लामो समयसम्म महानिर्देशक पदमा रही काम गरेका थिए । बाढी, पहिरो, भूक्षय नियन्त्रण तथा समग्र रुपमा जलाधार क्षेत्रको वैज्ञानिक तरिकाले व्यवस्थापन गर्ने उद्देश्यका साथ २०३१ साल साउन २४ गते भू तथा जलाधार संरक्षण विभागको स्थापना भएको दिनलाई सम्झेर नेपालले यो दिवस मनाइँदै आएको छ ।
वन तथा भूसंरक्षण विभागले आयोजना गरेको कार्यक्रममा स्थापितलाई कृषि, वन तथा पर्यावपरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र र विभागका महानिर्देशक धिरेन्द्रकुमार प्रधानले दोसल्ला ओढाई सम्मान गरिएको हो ।
कार्यक्रममा डा. प्रेम पौडेलले नेपालका जलाधार व्यवस्थापनको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशा बारे कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्र माथि भूसंरक्षण र जलाधार व्यवस्थापनमा काम गर्ने विज्ञहरुले छलफलमा भाग लिएका थिए ।
सो कार्यक्रममा मन्त्रालयका सचिव डा. मिश्रले पूर्वाधारको विकाससँगै निम्तिएका बाढी, भूक्षय जस्ता प्राकृतिक विपत्को समस्या समाधानका लागि भू तथा जलाधार विज्ञहरुको खाँचो रहेको बताए । उनले भूसंरक्षण लगायत समग्र जलाधार व्यवस्थापनका कामहरुलाई थप प्रभावकारी बनाउन मन्त्रालयले नयाँ संरचना निर्माण गर्न थालेको पनि बताए ।
विभागका महानिर्देशक प्रधानले पछिल्ला दिनमा यो दिवसको सान्दर्भिकता र महत्व बढेको बताए । भौतिक पूर्वाधारका कामहरु विशेष गरी बाटोघाटो, सिँचाई, खानेपानी लगायतका वस्ती विकासको माग र गति दुबै तिब्र रुपमा भइरहेका बेला जलाधार संरक्षणको सवाल निकै सम्वेदनशिल बन्दै गएको महानिर्देशक प्रधानको धारणा थियो ।
माटोको जगेर्ना नगरि विकासको दिगोपना हुन सक्दैन भन्ने अवधारणाका सहित ‘स्वस्थ्य जलाधार : समृद्धिको आधार’ भन्ने नाराका साथ यो वर्षको भूसंक्षण दिवस मनाइएको छ ।






























