काठमाडौँ। आज विश्व हात्ती दिवस । नेपालमा हात्ती दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना नगरिए पनि समुदायस्तरमा बिभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् ।
पछिल्लो समय भारतबाट विचरण गर्दै नेपाल प्रवेश गरेका हात्ती नेपालमा लामो समयसम्म बस्ने थालेपछि मानव हात्ती द्वन्द्वका केही घटनामा वृद्धि हुन थालेका छन् ।
शुक्लाफाँटा, लालझाडी मोहना क्षेत्र बढी द्वन्द्व हुने क्षेत्रमा रुपमा चिनिन थालेको छ ।

नेपालमा रैथाने हात्तीको संख्या ३२० को हाराहारीमा भएको अनुमान गरिन्छ । भारतको बाटो भएर मौसमी रुपमा नेपाल गर्ने प्रवेश हात्तीका समुह फेरी भारततर्फ नफर्किने र नेपाली वनजंगलमा बस्ने कारणले हात्तीको संख्या अलि बढी देखिन थालेको छ । हाल नेपाली भूमिमा विचरण गर्ने हात्तीको संख्या झण्डै ४०० भन्दा बढी रहेको अनुमान गरिएको छ । जसले गर्दा हात्तीसँगको द्वन्द्वका घटना बेलामौका सुनिनु स्वभाविक पनि हो ।
नेपालको पूर्वदेखि पश्चिमसम्म सबै क्षेत्र जङ्गली हात्तीबाट प्रभावित हुने गरेको छ । कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासी बाहेकका तराईका अरु सबै जिल्लाहरु कुनै न कुनै रुपमा हात्तीबाट प्रभावित हुने गरेका छन् ।

विशेष गरी पूर्वी नेपालको तराई क्षेत्र भारतबाट प्रवेश गरेका हात्तीले बढी प्रभावित हुँदै आएको छ । विगत १६ वर्षको अवधिमा पूर्वी तराईमा ८० जनाको ज्यान गएको तथ्याङ्क सार्वजनिक भएको छ । यो द्वन्द्व दोहोरो छ । यो अवधिमा पूर्वी तराईमा १६ वटा हात्तीको मृत्यु भएको छ । मारिएका अधिकांश हात्ती करेन्ट लगाएर मारिएका छन् ।
पूर्वी तराईमा भारतबाट प्रवेश गर्ने हात्तीले विशेष गरी झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिन्धुली, सर्लाही, महोत्तरीसम्म क्षति पु¥याउने गरेको छ ।
हात्तीविज्ञ डा. अशोक कुमार रामका अनुसार सन् २००० देखि हालसम्म हात्तीको आक्रमणबाट ३५७ मानिसको ज्यान गएको छ भने प्राकृतिक मृत्यु बाहेक मानिसका बिभिन्न गतिविधिले ५७ वटा हात्तीको मृत्यु भएको छ ।

केही वर्षअघिसम्म मौसमी रुपमा देखिने हात्ती हाल कोशी टप्पु क्षेत्रमा ४० वटा जतिको समुह बनाएर बिचरण गर्ने गरेका छन् । पर्सा चितवन क्षेत्रमा हाल ६० देखि ६५ सम्म हात्ती बिचरण गर्ने गरेका छन् । पर्सा चितवनमा रहेका हात्ती समुहमा भन्दा अलग अलग बस्ने गरेको डा. अशोकले बताए ।
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा १२० वटा हाराहारीका हात्तीको समुह रैथाने ढंगले बस्ने गरेको छ । शुक्लाफाँटा क्षेत्रमा ६० देखि ७० वटा हात्ती रहेको अनुमान गरिएको छ । डा. अशोकले भने, ‘शुक्लाफाँटा, लालझाडी मोहना क्षेत्र बढी द्वन्द्व हुने क्षेत्रमा रुपमा चिनिन थालेको छ ।’
विश्व हात्ती दिवसका अवसरमा हात्तीको विषयमा विद्यावारिधि प्राप्त गरेका डा. नरेन्द्रमान बाबु प्रधान, डा. अशोककुमार राम, डा. दिनेश न्यौपाने र लामो समयदेखि हात्तीः मेरो साथी अभियान चलाइरहनु भएका संरक्षणविद् रमेश थापासँग हामीले कुराकानी गरेका छौँ ।
सचेत हुँदा मान्छेको ज्यानसम्म जाँदैन
डा. नरेन्द्रमान बाबु प्रधान
हात्ती आफैमा हिंस्रक जनावर होइन । हात्तीको बाटो नछेक्ने हो भने यसले कसैलाई हानी नोक्सानी गर्दैन । खेतीबाली नोक्सानी गर्ला तर मानिसको ज्यान सम्म त जाँदैन ।

तर हामी कहाँ हात्ती आयो भन्न्ने बित्तिकै लखेट्ने, होहल्ला गर्ने, आगो देखाउने, तर्साउने गरिन्छ । आखिर उसले पनि आफ्नो सुरक्षा खोज्छ अनि द्वन्द्व सिर्जना हुन्छ ।
हात्तीका कारणले मानिसको ज्यान गुम्नु भनेको ठूलो मूल्य चुकाउनु हो । खेतीबालीको बीमा गर्न सकिन्छ । खेतीबाली नोक्सानी भयो भने अहिले तीन तहका सरकार छन्, राहत प्राप्त गर्न सकिन्छ र राहत दिन सकिन्छ ।
मानवले हात्तीप्रति जति राम्रो व्यवहार गरयो, त्यति हात्तीबाट कम क्षति हुने कुरा प्रति सचेतना जगाउनु जरुरी छ । हात्तीले आफ्ना बानी व्यवहार परिवर्तन गर्न सक्दैन, त्यसैले मानिसले आफ्ना बानी व्यवहार परिवर्तन गरी हात्तीसँग सहअस्तित्व कायम गर्न सके हात्ती पनि बाँच्ने र मानव जातिको हितमा हुने हुन्छ ।

हात्ती बचाउनु हाम्रो जिम्मेवारी हो
डा. अशोककुमार राम
मानव हात्ती द्वन्द्वले दुबै पक्षलाई नोक्सानी छ । नेपालमा जति पनि हात्ती मरेका छन् ती अधिकांश घटना हात्तीको रिसले थापिएका एम्बुसमा परेर मृत्यु भएको छ । हात्तीले नोक्सानी गर्दा हात्ती हिड्ने बाटोमा, खेतबारीमा करेन्ट लगाउने प्रवृति धेरै ठाउँमा छ । जसले गर्दा हात्ती मरेका छन् । यो राम्रो कुरा त होइन ।

परापूर्वकालदेखि हात्ती विचरण गर्ने उसको पुख्र्यौली थलोमा अहिले हामीले वस्ती, शहर विकास गरेका छौँ । हात्तीको समुहले आफ्नो पुख्र्यौली बाटो हिड्न रुचाउन्छन् । अहिले ती करिडोर सबै अवरुद्ध भएका छन् । अनि द्वन्द्व सिर्जना हुने गरेको छ ।
हात्तीसँग सहअस्तित्व कायम गर्न मानिसले आफ्ना आनीबानीमा परिवर्तन गर्न जरुरी छ । हात्ती त बोल्न नसक्ने जनावर हो भने मानिस त विवेकशिल प्राणीले भएको हात्तीलाई बचाउने र आफू बाँच्ने रणनीति मानिसले नै बनाउने हो । यो हाम्रो जिम्मेवारी पनि हो ।
हात्तीको बाटो नछेक्ने हो भने हात्तीले आक्रमण गरेका घटना सायद कमै होलान् । त्यसैले हात्ती आउँदा जाँदा नजिस्काउ, नतर्साउ, नभगाऔँ । कोलाहल नमच्चाऔँ । ऊ आफ्नो बाटो हिड्छ, हामी सुरक्षित हुन्छौँ ।

हात्तीसँग रिसिबि साध्न हुँदैन
डा. दिनेश न्यौपाने
नेपालमा हात्तीसँगको द्वन्द्वको समस्या भनेको सचेतनाको कमी नै हो । हात्ती बिचरण गर्ने बाटोमा मानव वस्ती विकास हुँदै गएका छन् । भौतिक पूर्वाधारका संरचना बन्दै गएका छन् । हात्तीले आफ्नो बाटो हिड्न खोज्दा सवारी साधन, मानिस, बस्तीसँग हात्ती ठोक्किन्छ, अनि द्वन्द्व सिर्जना हुन्छ ।

विकास भइसकेका शहर, बजार, बस्ती हटाउन सकिने कुरा भएन तर हात्ती आउँदा सचेत हुने, हात्तीलाई नलेखट्ने त गर्न सकिन्छ नि । यति मात्रै गर्दा मानिसको ज्यान जानेसम्मको घटना हुदैन । हात्तीको प्रतिकार गर्ने प्रवृति कम हुने बित्तिकै दुर्घटना स्वभाविक रुपमा कमी हुन्छ ।
नेपालमा हात्तीको मृत्यु चोरी शिकारीले भन्दा पनि किसानहरुले खेतबारीको सुरक्षाका लागि करेन्ट लगाएर, धराप थापेर राख्ने कारणले हुने गरेको छ । यी गतिविधिलाई रोक्न जरुरी छ । हात्तीसँग रिसिबि साध्ने काम बन्द गरिनुपर्छ ।

हात्ती : मेरो साथी अभियान सफल भयो
रमेशकुमार थापा
उज्यालो नेपालले हात्ती : मेरो साथी भन्ने अभियान सुरु गरेको छ । केही वर्ष पहिले बर्दियामा हात्ती र मानवबीच द्वन्द्वले विकराल रुप लिएको थियो ।
त्यसपछि हामीले २०२० मा खाता जैविक मार्गमा हात्ती : मेरो साथी भन्ने अभियान चलायौँ । अहिले यो अवधिमा न हात्तीबाट एक जना मान्छेको मृत्यु भएको छ, न मानिसका कारणले हात्तीको मृत्यु भएको छ । यो सकारात्मक नतिजा हामीले ल्याउन सफल भएका छौँ ।

हात्तीसँग लड्ने होइन, सचेत रहने हो । हात्तीसँग मान्छेले लडेर साध्य लाग्दैन । मानिसबाट हात्ती बचाउने र हात्तीबाट मानिस जोगिने उपाय एउटै छ, त्यो हो हात्तीको बानी व्यवहार अनुसार मानिसले आफ्नो बानीव्यवहार परिवर्तन गर्न सक्यो भने मानवीय क्षति नहुने वातावरण बन्छ ।
बालीनालीको क्षति भयो भने बीमा गर्न सकिने नयाँ नयाँ प्रावधान आएका छन् । तिन तहका सरकार छन्, राहत लिन सकिन्छ तर मान्छेको ज्यानै गयो भने त राहत कति मिल्छ र ? त्यसैले सहअस्तित्वको रणनीति अवलम्वन गर्न जरुरी छ ।
अहिले बिमा प्राधिकरणले बाली बिमाको अवधारणा सार्वजनिक गरेको छ । यो बिमा अन्तर्गत किसानलाई समेट्न सके थोरै रकमको बिमाबाट बालीबालीको राहत दिन सकिन्छ । यस तर्फ तिनै वटै तहका सरकारले आफ्ना कार्यक्रम ल्याउन जरुरी छ ।
(तस्विर : एन्जेल मोहा, बर्दिया)

































