काठमाडौँ । राष्ट्रिय वृक्षारोपण दिवसमा सोमवार देशभर झण्डै एक लाख भन्दा विरुवा रोपण गरियो । हरेक वर्ष असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवस मनाउँदै देशभर बिरुवाको रोपण गर्ने कार्य गरिन्छ ।
वन तथा वातावरण मन्त्री कृष्णगोपाल श्रेष्ठले बुढानिलकण्ठ नगरपालिको रुद्रमति धोबीखोला करिडोरमा सोमवार बिहान असारेको बोट रोपण गरेर राष्ट्रिय वृक्षरोपण दिवसको शुभारम्भ गर्नुभयो ।

सो अवसरमा वन तथा वातारण मन्त्रालयका सचिव डा.पेमनारायण कँडेल, वन तथा भूसंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले समेत विरुवाको रोपण गर्नुभयो ।
रुद्रमति धोबीखोला करिडोर स्थित आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले वृक्षरोपण गरेर मात्र नहुने र रोपेको बिरुवालाई बच्चा जस्तै गरेर हुर्काउन सके शहरभित्रका प्रदुषण कम गर्नुका साथै शहरी सौन्दर्यतामा सुधार ल्याउन सकिने बिचार व्यक्त गर्नुभयो ।

मन्त्री श्रेष्ठले वन तथा वातावरण मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिदै भन्नुभयो, रुख रोपेर बच्चा हुर्काए जस्तै गरे मात्र रुख रोपणको सार्थकता हुने हुँदा रोप्ने कार्यभन्दा रोपी सकेपछिको जगेर्ना गर्नु, हुर्काउनु चुनौतीपूर्ण कार्यलाई व्यवस्थापन गर्ने ठोस योजना ल्याउनुपर्छ ।
बुढानिलकण्ठ नगरपालिका र रुद्रमति हरियाली उपभोक्ता समितिको सहकार्यमा करिव पाँच किलोमिटर क्षेत्रको नदी किनार दायाँ बायाँ कपुर, चाँप, धूपी, करविर, टेकोमा, कल्की, असारे, चेरी, ज्याकाराण्डा लगायतका करिव तीन हजार २५० वटा विरुवाको वृक्षारोपण गर्ने कार्य रहेको वन तथा भूसंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताउनुभयो ।
सो कार्यका लागि आवश्यक पर्ने विरुवा डिभिजन वन कार्यालय, काठमाडौंले सहयोग गरेको छ ।

रोपेको बिरुवा उखेल्नु पाप हो : मन्त्री श्रेष्ठ
वन तथा वातवरण मन्त्री श्रेष्ठले बिरुवा रोप्नु पुण्य र बिरुवा उखेलेर मार्नु पाप हो भन्दै जीवनमा पूण्य कमाउन बिरुवा रोपेर नहुर्कन्जेलसम्म स्याहार गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री श्रेष्ठले भन्नुभयो, बोट रोपेपछि आफ्नै बच्चा जस्तै हुर्काउनु सक्नु पर्छ । यसरी हुर्काएको बिरुवाले एक व्यक्तिलाई मात्र होइन, समाज र देशलाई फाइदा दिन्छ । त्यसैले बोट रोप्नु र हुर्काउनु पूण्य कार्य हो ।
हालसम्मको वृक्षारोपणको तथ्याङ्क हेर्ने हो भने नेपालको जनसंख्या भन्दा बढी बोट रोपिइ सकेको होला भन्दै मन्त्री श्रेष्ठले भन्नुभयो, रोपेर मात्र हुँदैन रहेछ भन्ने यो कुराले प्रमाणित भइसकेको छ । अब रोप्ने सँगै हुर्काउने योजना पनि ल्याउनु पर्छ ।
सहरी सौन्दर्यकरणको अभियान हो : सचिव डा. कँडेल
वन तथा वातावरण मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले सहरी सौन्दर्यकरण बढाउनका लागि मन्त्रालयले शहरी क्षेत्रमा वृक्षारोपणका कार्यक्रमलाई विशेष योजनाका साथ अघि बढाइरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, नेपाल सरकारले सहरी वन विकासको कार्यक्रम सहरलाई सुन्दर बनाउन मात्र होइन, प्रकृतिसँग मानव सभ्यताको सम्बन्ध कायम राख्न समेत यो कार्यक्रमलाई विशेष रुपमा सुरु गरिएको हो ।
काठमाडौँ उपत्यका जस्ता देशका बिभिन्न सहरमा हरियाली सिर्जना गर्न सके शहरी पर्यावरण पनि स्वच्छ हुने कुरामा सचिव डा. कँडेलले जोड दिनुभयो ।
रिङ रोडमा सफल भयौँ : महानिर्देशक खड्का
वन तथा भूसंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले वृक्षारोपण महाअभियानलाई सुरुवात गरेको क्षेत्र कोटेश्वर देखि सातदोबाटो रिङ रोड खण्डमा निकै सफलता मिलेको बताउनुभयो । सो क्षेत्रमा तीन वर्ष अघि रोपिएका बिरुवा अहिले हुर्केर त्यो क्षेत्रको मुहार नै फेरिएको उहाँले बताउनुभयो ।

महानिर्देशक खड्काले भन्नुभयो, वृक्षारोपणले समाजमा सकारात्मक प्रभाव पार्ने भएकाले वृक्ष रोपण देखि हुर्काउने सम्मका कामका लागि सबै सरोकारवाला निकायले सक्रिय हुनु पर्ने देखिएको छ । यो काम कुनै एक निकाय र संस्थाका मात्र नभएकाले सबैले हातेमालो गर्नु जरुरी छ ।
देशभरी आज एक लाख भन्दा बढी विरुवा रोपण गरिएको बताइएको छ । सबै प्रदेश सरकार, स्थानीय तहहरुले वृक्षरोपण कार्यलाई पर्वको रुपमा मनाइरहेको कुरा वन तथा भूसंरक्षण मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेश सरकारले सोमवार मात्रै २० हजार बिरुवा रोपण गरेको जनाएको छ ।