केही सबस्टेशन र प्रशारण लाइनमा प्राविधिक समस्या आउँदा देशका बिभिन्न ठाउँमा विद्युत् आपूर्ति बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार चितवन, रौतहट र बिरगञ्ज करिडोरमा पर्ने बिभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द भएको हो ।
प्राधिकरण भार सम्प्रेषण केन्द्रका उपप्रवन्धक दीपक धितालका अनुसार विरगञ्ज, परावनीपुर, चन्द्रनिगाहापुर क्षेत्रमा प्रशारण लाइन निर्माण तथा मर्मत सम्भारको कार्य भइरहेकोले सो क्षेत्रमा विद्युत् आपूर्ति गर्न बन्द गरिएको हो । यसले गर्दा ती क्षेत्रमा आउँदो मङ्गलवारसम्मका लागि विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
त्यसैगरी हेटौडा — भरतपुर को १३२ केभी प्रशारण लाइनमा पनि प्राविधिक समस्या आउँदा आइतवार दिनभरी विद्युत् आपूर्ति नहुन सकेको बताइएको छ । सो क्षेत्रको समस्यालाई अध्ययन गरी तत्काल मर्मत सम्भार तथा लाइन सुचारु गर्न प्राधिकरणले कर्मचारी पठाइसकेको बताएको छ ।
उहाँका अनुसार सो प्रशारण लाइनमा प्राविधिक समस्या आएपछि मस्र्याङ्दी र कालीगण्डकी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली पूर्वी खण्डमा पठाउन नसकिएको उपप्रवन्धक धितालले बताउनुभयो । उहाँले भन्नुभयो, पश्चिमी क्षेत्रबाट उत्पादित बिजुली पूर्वी खण्डमा पठाउन सकिएको छैन । जसले गर्दा पूर्वी नेपालका औद्योगिक करिडोरमा बिजुली आपूर्तिमा केही कठिनाई भइरहेको छ ।
यी क्षेत्रमा आउने मङ्गलवारसम्ममा विद्युत् आपूर्ति हुन नसक्ने उहाँले बताउनुभयो । काठमाडौदेखि पश्चिमी क्षेत्रमा उत्पादित बिजुली पूर्वी नेपालतर्फ पठाउँदा भरतपुर — हेटौडा प्रशारण लाइन प्रयोग गर्ने गरिन्छ । यो प्रशारण लाइनमै खराबी आउँदा बिजुली प्रवाह गर्न कठिन भएको हो । यो प्रशारण लाइन प्राधिकरणका इतिहासमा पुरानो प्रशारण लाइन मानिन्छ । यो प्रशारण लाइन बेला बेला बिग्रने र तार चुडिने तथा बढी चुहावट हुने प्रशारण लाइनमा मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here