बाघको आक्रमणमा परी निकुञ्ज कर्मचारीको मृत्यु

बर्दिया । आइतवार साढे साँझ पाँच बजे बाघको आक्रमणमा परेर बर्दिया राष्ट्रिय निकुञ्जका एक जना कर्मचारीको मृत्यु भएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले दिएको जानकारी अनुसार गैँडा गणना टोलीमा सहभागी हात्तीका माउते पुलिसराम चौधरीको मृत्यु भएको छ ।

३१ वर्षीय माउते चौधरी निकुञ्जको हात्तीसारमा विगत चार वर्षदेखि काम गर्दै आएका थिए । माउते चौधरीले यही चैत १७ गते सम्पन्न भएको गैँडा गणनाको प्रशिक्षणमा भाग लिएका थिए भने १८ गते देखि सुरु भएको गणना कार्यमा निरन्तर सक्रिय रुपमा सहभागि हुँदै आएका थिए ।

प्रमुख संरक्षण अधिकृत श्रेष्ठका अनुसार निकुञ्जभित्रको गैँडा मचान क्षेत्रमा गणना गरेर टोली बिश्राम गर्ने अवस्थामा रहेका बेला नजिकै रहेको बाघले चौधरी र हात्ती माथि आक्रमण गरेको थियो । आक्रमणमा परेका चौधरीलाई केही मिटर परसम्म बाघले लछारेर लगेको थियो ।

चौधरीलाई बाघले समाते पछि तत्काल टोलीमा रहेका अरु सदस्यहरुले उनको उद्धार गर्न खोजेपनि बाघको आक्रमणबाट उनको मृत्यु भइसकेको थियो ।

बाघको आक्रमणमा परेर बर्दिया राष्ट्रिय निकुञ्जमा यस अघि १० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here