काठमाडौँ । लमजुङमा निर्माण भइरहेको २७ मेगावाटको दोर्दी खोलाबाट आगामी भदौभित्र विद्युत् उत्पादन हुने भएको छ । करिब ८० प्रतिशत निर्माण सकिएको उक्त आयोजनाले चालु आर्थिक वर्षभित्र निर्माणका सबै सकेर बाँकी दुई महिना आवश्यक परीक्षण गरी आगामी भदौबाट विद्युत् उत्पादन गर्ने आयोजनाले लक्ष्य लिएको छ ।
आयोजनाको प्रवद्र्धक कम्पनी हिमालयन पावर पार्टनर लिमिटेडका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालका अनुसार आयोजनाको विद्युत् गृह, बाँध र सुरुङ निर्मार्णको कार्य अन्तिम चरणमा पुगेको छ भने बाँधको संरचनाको काम सम्पन्न भइसकेको छ ।
दुई हजार ७७० मिटर सुरुङमध्ये पाँच सय मिटर खन्न बाँकी छ । उक्त कार्य चैतभित्र सकिने ढकालले बताउनु भयो । आयोजनामा सुरुङबाहेक दुई हजार छ सय मिटर पेनस्टक पाइप जडान हुने छ जुन कार्य हाल भइरहेको छ । उहाँले भन्नुभयो–‘ विद्युत् गृहको काम अन्तिम चरणमा पुगेको छ । संरचना निर्माणको काम सकिएपछि चैतबाट इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम हुन्छ । भदौ १५ सम्म विद्युत् उत्पादन गर्छौं ।’
२०७१ फागुनबाट सुरु भएको आयोजनाको निर्माण कार्य २०७४ असारसम्म सक्ने लक्ष्य लिइएको थियो । भूकम्प, नाकाबन्दीलगायतका विभिन्न कारण आयोजना निर्माणमा ढिला भएको ढकालले बताउनु भयो । रन अफ दी रिभर प्रणालीमा आधारित सो आयोजनामा ९÷९ मेगावाटको ३ वटा फ्रान्सिस टर्बाइन जडान हुने आयोजनाका इन्जिनियर दीपक ज्ञवालीले बताउनु भयो । उहाँका अनुसार दोर्दी गाउँपालिका ६ ढोडेनी र ८ बन्सारबीचको दोर्दी खोलामा बाँध निर्माण गरिएको छ । पानीलाई बेंसीसहर नगरपालिका ११ चिती रामचोक बेंसीको मस्र्याङ्दी नदी किनारमा निर्माण गरिने विद्युत गृहमा खसालिने छ ।
उत्पादित विद्युत विद्युत् गृहबाट १.२ किलोमिटरको दूरीमा रहेको उदीपुरस्थित निमार्णाधीन १३२ केभीको सब स्टेसनमा जोडिने छ । आयोजनाका अनुसार १४७.६९ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुनेछ । चुहावट हुन सक्ने भन्दै आयोजनाले १४२ दशमलब ३१ गिगावाट प्रतिघण्टा विद्युत् विक्री गर्ने प्रक्षेपण गरेको छ । नेपाल विद्युत् प्राधिकरणसँग सुख्खा याममा प्रतियुनिट ८ रुपियाँ ४० पैसा र वर्षायाममा ४ रुपियाँ ८० पैसामा आयोजनाले २०६९ असार १ गते विद्युत् पीपीए भइसकेको छ ।
आयोजनाको कुल लागत चार अर्ब २३ करोड ३५ लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ । गैरआवासीय नेपालीद्वारा स्थापित एनआरएन इन्भेस्टमेन्ट लिमिटेडको ३५.७ प्रतिशत, आइएमई ग्रुपको ३४.३० प्रतिशत र स्थानीयको ३० प्रतिशत लगानी छ । यसका लागि प्राइम कमर्सियल बैंकको अगुवाईमा ८ वटा बैंक तथा वित्तीय संस्थाको ७५ प्रतिशत ऋण र प्रवद्र्धकको ३५ प्रतिशत इक्विटी रहने छ ।