नेपाल किन आए जेडएसएलका डिजी ?

काठमाडौँ । जुलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) का महानिर्देशक डोमिन जर्मसीले एक हप्ते नेपाल भ्रमण गरेर फर्केका छन् ।

विशेष गरी नेपालको बाघ संरक्षणमा लामो समयदेखि काम गर्दै आएको अन्तराष्ट्रिय संस्थाको उच्च अधिकारीको यो भ्रमणले नेपालको संरक्षण क्षेत्रमा के प्रभाव पार्छ ? उहाँको भ्रमण विशेष के कुरामा केन्द्रित थियो ? भनेर नेपालकथाले सो संस्थाका नेपाल प्रतिनिधि डा. हेमसागर बराललाई सोधेको थियो ।

डा. बरालका अनुसार जेडएसएलको महानिर्देशकले नेपाल भ्रमण गरेपछि नेपाललाई विगतमा दिइदै आएको सहयोगमा निरन्तरता मात्र नभई थप सहयोगको आशा पनि गर्न सकिने स्थिति पैदा भएको छ । विशेष गरी जेडएसएलले बाघ संरक्षणमा काम गर्ने भएको र नेपालमा बाघको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा नेपालका कार्यक्रम हेर्न, अनुगमनका लागि महानिर्देशक डोमिन नेपाल आउनुभएको हो । डोमिनको भ्रमणपछि नेपाल सो संस्थाको ‘फोकल कन्ट्री’को रुपमा दर्ज भएको छ ।

डा.बरालले भन्नुभयो, महानिर्देशक डोमिनको भ्रमण निकै फलदायी रह्यो, नेपाल अब दक्षिण एसियाली क्षेत्रको ‘फोकल कन्ट्री’को रुपमा काम गर्न सक्ने भएको छ । दक्षिण एसियामा नेपाल लगायतका भारत र बंगलादेशमा कार्यक्रम सञ्चालन भइरहेका छन् ।

जेडएसएलले सहयोग गरेको पर्सा राष्ट्रिय निकुञ्जभित्रका बिभिन्न भौतिक संरचना, मकवानपुर जिल्लामा समुदायमा आधारित सालक संरक्षण महिला समुदायले गरेको गतिविधिहरुको प्रत्यक्ष अवलोकन तथा अन्तक्र्रिया गर्नुभयो । हाल जेडएसएलले बाघ, एक सिँगे गैँडा ठूला वन्यजन्तुको साथै सालक, घडियाल संरक्षणमा पनि सहयोग गर्दै आइरहेको छ ।

त्यसैगरी उहाँले चितवन राष्ट्रिय निकुञ्जको कसरा स्थित घडियाल प्रजनन केन्द्रको अवलोकन गर्दै १५ वटा घडियाली नदीमा छाड्ने कार्यक्रममा पनि सहभागिता जनाउनुभयो । सो कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का, जेडएसएलका नेपाल प्रतिनिधि डा. बराल, राष्ट्रिय प्रकृति संरक्षण कोषका सरिता ज्ञवाली लगायतका सहभागिता रहेको थियो ।

जेडएसएलले त्यहाँका माझी, मुसहर, बोटे लगायतका समुदायको जीविकोपार्जनका लागि पनि सहयोग गर्दै आएको छ । सो कार्यक्रमको पनि महानिर्देशक डोमिनले स्थलगत अवलोकन तथा अन्तक्र्रिया गर्नुभयो । सालक संरक्षण र घडियाल संरक्षणका लागि सम्बन्धित समुदायमा सञ्चालित जीविकोपार्जनबाट स्थानीय समुदायलाई पुगेको सहयोग बारे महानिर्देशक डोमिनले निकै चाखपूर्वक हेर्नुभएको निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षा गस्ती तथा वन्यजन्तु अनुगमनका गर्नका लागि ५० वटा साइकिल र एउटा डुंगा पनि निकुञ्जलाई हस्तान्तरण गर्नुभयो ।

नवलपरासीस्थित भल्चर रेष्टुरेन्टको वस्तुस्थिति सम्बन्धी जानकारी लिने क्रममा नेपालले दुर्लभ तथा लोपोन्मुख प्रजातिको संरक्षणमा गरेको कार्यको महानिर्देशक डोमिनले निकै प्रशंसा गर्नुभयो ।

दक्षिणी अफ्रिकी मुलुकमा बाघ, गैँडा लगायतका दुर्लभ वन्यजन्तु दिनप्रतिदिन घट्दै गएको परिपेक्ष्यमा नेपाल सरकारले यी लगायतका अन्य लोपोन्मुख वन्यजन्तुको संरक्षणलाई प्राथमिकतामा राखेको देख्दा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँग संरक्षणको क्षेत्रमा थप सहयोग हुने विश्वास पनि उहाँले दिलाउनुभयो ।

मन्त्री बस्नेतको सचिवालयका अनुसार नेपाल सरकारको प्राथमिकताको क्षेत्र र जेडएसएलले निर्धारण गरेको कामको प्राथमिकताको क्षेत्र समान भएकाले आगामी दिनमा संरक्षण कार्यमा नेपाललाई थप सहयोग गर्ने प्रतिवद्धता मन्त्रीसँगको भेटमा डोमिनले गर्नुभएको छ । जेडएसएलले सन् २०१४ बाट नेपालमा काम गर्दै आइरहेको छ ।

जेडएसएलले आफ्नो रणनीति परिवर्तन गर्न लागिरहेका बेला भएको नेपाल भ्रमणले नेपाललाई थप सहयोग पुग्ने आशामा सरकारी अधिकारी पनि पुगेका छन् । महानिर्देशक डोमिनले नेपालमा बस्दा वन तथा वातारण मन्त्री शक्तिबहादुर बस्नेत बाहेक मन्त्रालयका सचिव डा. विश्वनाथ ओली, राष्ट्रिय प्रकृति संरक्षण कोषका पदाधिकारीहरुसँग पनि अन्तक्र्रिया र छलफल गर्नुभएको थियो ।

संस्थाको केन्द्रीय कार्यालय बेलायतको लण्डनमा रहेको छ । हाल जेडएसएलले पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षणका बिभिन्न गतिविधिमा सहयोग पुर्याउँदै आएको छ ।

जेडएसएल नेपाल प्रतिनिधि डा. हेमसागर बराल

जेडएसएलले राष्ट्रिय प्रकृति संरक्षण कोष मार्फत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका संरक्षणमुखी कार्यक्रमलाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आइरहेको छ । विभागका महानिर्देशक खड्काले भन्नुभयो, जेडएसएल, डब्लुडब्लुएफ लगायतका संरक्षण साझेदार संस्थाको सपोर्टका कार्यहरुले विशेष गरी तराईका संरक्षित क्षेत्रमा भइरहेको संरक्षणमुखी क्रियाकलापहरु प्रतिफलमुखी भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here