किसान राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ । कृषिमा लगानी आकर्षित गर्ने उद्देश्यले दोस्रो पटक फागुन १६ र १७ मा साना किसानका लागि राष्ट्रिय सम्मेलन, २०७५ गरिने भएको छ । यसअघि पहिलो सम्मेलन २०७१ मा भएको थियो ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिको आयोजनामा काठमाडौँमा हुने सो सम्मेलनमा देशभरका झण्डै एक हजारभन्दा बढी साना कृषि समूहका प्रतिनिधि सहभागी हुने भएका छन् ।

चार वर्ष पहिले १९ बुँदे घोषणपत्र जारी गर्दै पहिलो सम्मेलन सम्पन्न भएको थियो भने यस वर्ष ‘साना किसानको समृद्धिः कृषिमा रुपान्तरण र उद्यमशीलता विकास’ भन्ने नाराका साथ शुरु हुने भएको छ ।

राजधानीमा सोमवार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका उपाध्यक्ष खेमबहादुर पाठकले राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञ, अन्वेषक, अध्येता, अभ्यासकर्ता, विद्यार्थी, योजनाविद् तथा नीति निर्माता गरी एक हजार २०० व्यक्तिको सहभागिता हुने जानकारी दिनुभयो ।

गरीबी निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, उत्पादन विकास, रोजगारी सिर्जना तथा पर्यावरण संरक्षणजस्ता काममा सम्मेलनबाट सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । सम्मेलनमा प्रस्तुत हुने २८ कार्यपत्र छलफल गरी निचोड निकालिने भएको छ ।

कृषि प्रधान देशमा ३४ अर्बको खाद्य पदार्थ आयात

काठमाडौँ । कृषि गणना २०६८ अनुसार नेपालमा ७३ दशमलव नौ प्रतिशत जनता कृषि कर्ममा संलग्न छन् । सरकारले लामो समयदेखि नेपाललाई कृषि प्रधान देशका रूपमा चित्रण गर्दै सोहीअनुसारको व्यवहार गर्दै आएको छ तर चालू आर्थिक वर्षको पाँच महीनामा मात्रै चामल, मकै, भटमास, स्याउजस्ता खाद्य पदार्थको आयात रु ३४ अर्ब २१ करोड बराबरको भएको छ ।

कृषि पेशामा संलग्न हुनसक्ने युवा जनशक्ति वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । स्वदेशमा नै रहेका युवासमेत शहरी तथा सुगम क्षेत्रमा रहँदा ग्रामीण तथा तराईका खेतीयोग्य जमीन बाँझो बन्दै गएको छ ।

आव २०७४/७५ मा मात्रै रु ७३ अर्ब १६ करोड बराबरको चामल, मकै, स्याउ, भटमास, आलु आयात भयो । चालू आवको पाँच महीनामा रु १३ अर्ब ५८ करोड बराबरको चामल आयात भयो । आव २०७४/७५ मा रु २९ अर्ब ५३ करोडको चामल आयात हुँदा आव २०७३/७४ मा रु २३ अर्ब ८७ करोडको आयात भएको थियो । मसिनो र बास्नादार चामलको माग बढ्दा चामलको आयात बढेको स्वयम् सरकारकै भनाइ छ ।

अर्को तथ्याङ्क पनि छ । नेपालका प्रमुख बालीमध्ये मकै एक हो तर चालू आवको पाँच महीनामा रु पाँच अर्ब १९ करोडको मकै आयात भयो । आव २०७४/७५ मा रु १२ अर्ब ५५ करोड र आव २०७३÷७४ मा रु १० अर्ब ६३ करोडको मकै आयात भयो । हरेक वर्ष चामल र मकैको आयात बढिरहेको छ । विप्रेषणबाट प्राप्त भएको ठूलो परिमाणको रकम खाद्यान्नको खरीदका लागि खर्च हुने गरेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्तुत गरेको तथ्याङ्कलाई नै आधार मान्ने हो भने चालू आवको पाँच महीनामा रु सात अर्ब पाँच करोडको भटमास आयात भएको छ । आव २०७४/७५ मा रु १८ अर्ब १५ करोड र आव २०७३÷७४ मा रु १६ अर्ब ९७ करोड बराबरको भटमास र भटमासको तेल आयात भएको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार नेपालका करीब ४५ लाख युवा वैदेशिक रोजगारीमा छन् । उनीहरूले वार्षिक नेपालमा पठाएको ठूलो परिमाणको विप्रेषण अनुत्पादक क्षेत्रमा खर्च भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आव २०७४/७५ मा रु सात खर्ब ५५ अर्ब छ करोड विप्रेषण आप्रवाह भएको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा रु चार खर्ब ४३ अर्ब ३६ करोड विप्रेषण आप्रवाह भएको छ ।

चालू आवको पाँच महीनामा मात्रै रु तीन अर्ब ९९ करोडको आलु आयात भएको छ । चिप्स प्रयोजनका लागि आलुको आयात बढिरहेको छ । नेपालमा चिप्सका लागि आलु खासै उत्पादन गरिँदैन । आव २०७४/७५ मा रु छ अर्ब ३५ करोड र आव २०७३/७४ मा रु पाँच अर्ब ५२ करोडको आलु आयात भएको छ ।

यस्तै चालू आवको पाँच महीनामा रु दुई अर्ब ५६ करोडको स्याउ आयात भएको छ । आव २०७४÷७५ मा रु पाँच अर्ब ६३ करोड र आव २०७३/७४ मा रु चार अर्ब ८७ करोडको स्याउ आयात भएको थियो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार कृषिउपज आयात ठूलो मात्रामा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here