पक्षी तथा जनावर अनुसन्धानको केन्द्र बन्दै दाङ

लमही । पछिल्लो केही समययता दाङको देउखुरी क्षेत्र जनावर तथा पक्षीको खोज तथा अनुसन्धान केन्द्रको रूपमा विकास भएको छ ।

देउखुरी क्षेत्रमा ठूलो जङ्गल र राप्ती नदी पनि रहेकाले जनावर तथा पक्षी अनुसन्धान गर्ने केन्द्र बन्ने भएको छ ।

देउखुरी क्षेत्रमा अनुसन्धानका लागि देश तथा विदेशबाट विद्यार्थी तथा अनुसन्धानकर्ता आउने गरेका छन् । केही दिनअघि मात्रै एक विदेशी नागरिक आएर त्यहाँका जलपक्षी तथा जङ्गली जनावरको अध्ययन गर्नुभएको थियो । अहिले नेपालका धेरै पक्षी तथा जनावर अध्ययनकर्ता देउखुरीमै आएका छन् ।

देउखुरी क्षेत्रमा ठूलो हिस्सा सामुदायिक वनक्षेत्रले ओगटेकाले विभिन्न प्रजातिका जीवजन्तु तथा पक्षीहरु पाइने देउखुरी डिभिजन कार्यालय दाङका सहायक वन अधिकृत पुरन चौधरीले बताउनुभयो । ती जीवजन्तु तथा पक्षी अनुसन्धानका लागि विद्यार्थी, अनुसन्धानकर्ता आउने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार देउखुरी क्षेत्रको लमही नगरपालिकासहित राजपुर, राप्ती, गढवा गाउँपालिकामा अनुसन्धानका लागि आउने गरेका छन् ।

अहिले देउखुरीमा जलपक्षीदेखि लोपोन्मुख जनावरको खोज तथा अनुसन्धान भइरहेको छ । ‘प्रकृतिका साथीहरु’ संस्थाले अहिले लोपोन्मुख ‘हाइना’, चौकालगायतका जनावरको अनुसन्धान भइरहेको हुँडार कार्यक्रम संयोजक चिरञ्जीवी खनालले बताउनुभयो । “हामी तीन/चार वर्षदेखि नियमित देउखुरीमा जनावरको अध्ययनमै छौँ”, उहाँले भन्नुभयो, “हामीले अहिले देउखुरीका विभिन्न जङ्गलमा लोपोन्मुख जनावरको खोजी गरिरहेका छौँ ।”

त्यस्तै केही दिनअघि मात्रै देउखुरीको राप्ती नदीमा पक्षी अनुसन्धान गर्न आउनुभएका जलपक्षीविज्ञ दिनेश गिरीले देउखुरी क्षेत्रमा लोपोन्मुख जलपक्षी तथा जनावर पाइने भएकाले पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिने बताउनुभयो । “देउखुरीमा लोपोन्मुख पक्षी पनि पाइन्छन्”, उहाँले भन्नुभयो, “यहाँ पर्यटनको पनि विकास गर्न सकिन्छ ।” देउखुरी क्षेत्रमा ३० बढी स्तनधारी र २६० भन्दा धेरै चरा पाइनेसमेत उहाँले बताउनुभयो ।

त्यस्तै विद्यार्थीका लागि देउखुरी क्षेत्र अध्ययनको केन्द्र पनि बन्ने गरेको छ । स्नातकोत्तर गरिरहनुभएका खडानन्द पौडेलले देउखुरी क्षेत्रको जङ्गलमा सुन गिद्धको अध्ययन गरिरहनुभएको छ । “अहिले दाङको देउखुरी क्षेत्रका विभिन्न जङ्गलमा गिद्धको अध्ययन गरिरहेको छु”, उहाँले भन्नुभयो, “दाङमा ठूलो वनजङ्गल भएको र लोपोन्मुख गिद्ध पाइने थाहा पाएपछि अनुसन्धानका लागि दाङ नै आएको हुँ ।”

त्यस्तै अर्का विद्यार्थी प्रतीक पाण्डेले पनि अहिले दाङका विभिन्न जिल्लाका वनमा पुगेर काठेभालुको अध्ययन गरिरहनुभएको छ । ठूलो जङ्गल भएको, चरा तथा जनावरका लागि उपयुक्त वातावरण भएको, पूर्वपश्चिम राजमार्गमा पर्ने र सबैलाई सहज पर्ने ठाउँ भएकाले पनि देउखुरी क्षेत्र चरा तथा जनावरको अध्ययन केन्द्र बन्ने गरेको गिद्धविज्ञ सुमन घिमिरेले बताउनुभयो । “दाङमा राजमार्ग नजिकै पनि ठूलाठूला वनजङ्गल छन्, अर्कोतर्फ लोपोन्मुख जनावर पनि यहाँ पाइन्छन्”, उहाँले भन्नुभयो, “त्यसैले पनि यहाँ अनुसन्धान गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको हो ।”

लोपोन्मुख जनावरको अनुसन्धान गरिँदै

देउखुरी क्षेत्रमा फेला परेका लोपोन्मुख जनावरको थप अध्ययन भइरहेको छ । देउखुरी क्षेत्रमा ‘हुँडार’ र ‘चौका’ फेला परेको भन्दै त्यसको थप अध्ययन भइरहेको छ । चार वर्षअघि देउखुरीको जङ्गलमा फेला परेको हुँडार र दुई वर्षअघि फेला परेको चौका लोपोन्मुख रहेको र त्यस विषयमा प्रकृतिका साथीहरु संस्थाले थप अनुसन्धान गरिरहेको हुँडारका कार्यक्रम संयोजक खनालले बताउनुभयो ।

उहाँका अनुसार ती जनावरको सङ्ख्या, बानी व्यहोरालगायतका विषयमा क्यामेरामा ‘ट्र्याप’ गरेर अनुसन्धान गरिरहेको उहाँको भनाइ छ । “हामीले देउखुरी क्षेत्रमा दुई लोपोमुख जनावर फेला पारेका छौँ”, उहाँले भन्नुभयो, “ती जनावरको क्यामेरा ट्र्याप गरेर सङ्ख्या, बानी व्यहोरालगायत थप विषयहरु अध्ययन गरिरहेका छौँ ।” देउखुरी क्षेत्रमा धेरै हाइना पाइने भएकाले ‘भ्याली अफ हाइना’को रूपमा समेत उपनाम दिएको उहाँले बताउनुभयो ।

देउखुरी क्षेत्रमा जाडो समयमा करीब २० प्रजाति बढी चरा बाहिरबाट पाहुनाको रूपमा आउने गर्छन् । ती चरा जाडो सकिएपछि भने पुनः आफ्नै क्षेत्रमा पुग्ने गर्छन् । गिद्धका लागि उपयुक्त जिल्ला मानिने दाङमा विश्वमै लोपोन्मुख मानिएका गिद्ध पनि पाइन्छन् । खासगरी सात प्रजातिका गिद्ध दाङमा पाइन्छन् भने तीन प्रजातिका गिद्धको मात्रै गुँड भेटिएका छन् । दाङमा पाइने सात प्रजातिका गिद्धमध्ये चार प्रजातिका गिद्धहरु विश्वमै लोपोन्मुख मानिन्छन् । दाङमा डङ्गर, सानो खैरो, सेतो गिद्ध, हिमाली, सुन गिद्ध, राज गिद्ध, लामोठँुडे गिद्ध पाइन्छन् ।

तीमध्ये डङ्गर, सानो खैरो, सुनगिद्ध, लामोठँुडे गिद्ध संसारमै लोपोन्मुख गिद्ध भएको नेपाल पक्षी संरक्षण सङ्घका परियोजना अधिकृत भुपाल नेपालीले बताउनुभयो । उहाँका अनुसार सानो खैरो, डङ्गर, सेतो गिद्ध गरी तीन प्रजातिका गिद्धका करीब ७० गँुड भेटिएका छन् । दाङको रामपुर, गोबरडिहा, कप्तानगञ्ज, शान्तिनगर, हापुरलगायतका क्षेत्र गिद्धका लागि उपयुक्त भएको उहाँले बताउनुभयो । पर्यावरण संरक्षण गर्ने पक्षीका रूपमा लिइने गिद्धको संरक्षणका लागि दाङमा दुई ‘रेष्टुरेण्ट’ सञ्चालनमा ल्याइएको छ । लालमटिया र बिजौरीको स्यालापानीमा रेष्टुरेण्ट सञ्चालनमा ल्याइएको पर्यावरणीय एवं दिगो विकास तथा अनुसन्धान केन्द्र दाङका अध्यक्ष डिल्लीबहादुर रावतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here