उपत्यकाको प्रदूषण नियन्त्रण कार्ययोजनाको शुभारम्भ

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ को शुभारम्भ गरिएको छ । उपत्यकाभित्र बढ्दोे सवारी जामलाई कम गर्न तथा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन तयार पारिएको कार्ययोजनाको बिहीवार शुभारम्भ गरिएको हो ।

कार्ययोजनाको शुभारम्भ गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकालाई नमूनाका रुपमा विकास गर्न उक्त कार्ययोजना अगाडि सारिएको बताउनुभयो । “अब काठमाडौँ उपत्यका सफा हुन्छ, हामी दृढताका साथ अगाडि बढेका छौँ, काम गर्न प्रशासनिक झन्झटमा अल्झेर बस्ने बेला छैन,” उहाँले भन्नुभयो ।

महानिरीक्षक खनालले उपत्यकालाई सुन्दर क्षेत्रका रुपमा विकास गर्न महानगरपालिका, नगरपालिका, सडक विभाग, यातायात व्यवस्था विभाग, नगर प्रहरी सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीको इच्छा, चाहना र गृह मन्त्रालयको ८२ बुँदे गृह प्रशासन सुधार योजनाअनुसार नेपाल प्रहरीले सबै निकायसँग समन्वय गरेर ट्राफिक सुधारको क्षेत्रमा काम गर्न लागेको उहाँको भनाइ थियो ।

काठमाडौँ जिल्लाका प्रजिअ रामप्रसाद आचार्यले आम समुदायलाई समावेश गरी अभियानलाई सशक्त रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले तीन वर्षभित्र उपत्यकाभित्रका सबै करिडोरलाई सञ्चालनमा ल्याउने गरी प्राधिकरणले काम थालेको बताउनुभयो । “सबै अनुशासित, मर्यादित भएर अगाडि बढे उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार आउँछ,” उहाँले भन्नुभयो । तत्काल धोबीखोला करीडोर सञ्चालन गर्न प्राधिकरण लागेको उहाँको भनाइ छ ।

साझा यातायात प्रालिका अध्यक्ष कनकमणि दीक्षितले उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन सार्वजनिक यातायात सेवालाई अगाडि बढाउनुपर्ने बताउनुभयो । काठमाडौँ–१४ का अध्यक्ष शोभा सापकोटा, हेबी इक्विमेन्ट व्यवसायी महासङ्घका अध्यक्ष ताराबहादुर कुवँर लगायतले उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तत्काल तीन महीनाका लागि तयार पारिएको योजनाभित्र प्रदूषण नियन्त्रण गर्ने, करिडोर खोल्ने, जेब्राक्रसिङ र लेनलाई विशेष व्यवस्थापन गर्ने, बस पकेट नियमन गर्ने, आकाशे पुल निर्माण गर्ने, ट्राफिक भोलेन्टिर निर्माण गर्नेलगायत कार्ययोजना रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले जानकारी दिनुभयो । कार्ययोजनाभित्र रहेका विभिन्न समितिहरूले बिहीबारदेखि नै काम शुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here