डाक्टरले बिरामीलाई दुःख दिन पाइन्न ः उपेन्द्र यादव

भरतपुर । उपप्रधानमन्त्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विभिन्न बहानामा चिकित्सकले बिरामीलाई दुःख दिन नपाउने बताउनुभएको छ ।

आइतवार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले चिकित्सकका माग सङ्घीय निजामती ऐनले समेटिसकेकाले जनतालाई दुःख दिन नपाइने बताउनुभयो ।

“अरु कुनै महत्वपूर्ण कुरा छ भने त्यसलाई सरकारले सकरात्मक रूपमा लिन्छ”, उहाँले भन्नुभयो, “तर विभिन्न मागका नाममा बिरामीलाई दुःख दिन जरुरी छैन् ।” समायोजनले चिकित्सकको वृत्तिविकासमा अवरोध सिर्जना हुन्छ, भन्ने भ्रम मात्र भएको उहाँको तर्क छ । “वृत्ति विकास सबैको हुन्छ, यसमा सरकारले कसैलाई पनि रोक्दैन”, उहाँले भन्नुभयो, “यो रोकेर कहाँ चिकित्सा प्रणाली चल्छ ।” आन्दोलन छाडेर जनताको सेवा र बिरामीको उपचारमा लाग्न उहाँले चिकित्सकलाई आग्रह गर्नुभयो ।

चिकित्सकका समस्या सरकारले बुझेको भन्दै उहाँले चिकित्सकले माग भन्दा पनि सेवालाई आत्मसाथ गर्नुपर्ने धारणा राख्नुभयो । चितवन मेडिकल कलेज फरक प्रसङ्गमा उहाँले भन्नुभयो, “तोकेको भन्दा बढी शुल्क लिने र दिने दुवै दोषी हुन्, यसको छानबिन हुन्छ ।” सरकारको मापदण्डअनुसार सबै मेडिकल कलेज चल्नुपर्ने भन्दै उहाँले यस विषयमा चितवन मेडिकल कलेज प्रशासनसँग पनि कुरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here