रसुवागढी र साञ्जेन जलविद्युत् : कति धेरै आकर्षण ?

काठमाडौँ । जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको साधारण शेयरमा सर्वसाधारणले उत्साहपूर्ण सहभागिता जनाएका छन् ।


चिलिमे जलविद्युत् कम्पनीका दुई सहायक कम्पनीले सर्वसाधारणलाई बिक्री गरेको शेयरमा रु तीन करोड बढीको आवेदन परेको हो ।

चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाका अनुसार दुई वटा कम्पनीको साधारण शेयरमा रु तीन करोड १७ लाख बराबरको आवेदन परेको हो ।

रसुवागढीको शेयरमा तीन लाख सात हजार आवेदकले एक करोड ४१ लाख कित्ताका लागि आवेदन दिएका छन् । रसुवागढीले रु एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता शेयर बिक्री गरेको थियो ।


यस्तै साञ्जेन जलविद्युत् कम्पनीले रु ५४ करोड ७५ लाख बराबरको ५४ लाख ७५ हजार कित्ता साधारण शेयर बिक्री गरेको थियो । त्यसमा कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर रसुवागढीले ९३ लाख ३९ हजार ४६७ कित्ता शेयरका लागि आवेदन माग गरेको थियो ।

कोइरालाका अनुसार साञ्जेनको शेयरमा तीन लाख चार हजार २१४ आवेदकले रु एक करोड ४१ लाख ४१ हजार ७५० कित्ता शेयरमा आवेदन दिएका छन् । दुईवटै कम्पनीको शेयरमा छ लाख बढी आवेदकले आवेदन दिएका छन् । सम्पूर्ण विवरण तयार पार्न केही दिन लाग्ने भएकाले आगामी साता शेयरको बाँडफाँट हुने सम्बन्धित कम्पनीले जनाएका छन् ।

जनताको जलविद्युत् कार्यक्रममा समावेश गरिएका ती आयोजनामा सभामुख कृष्णबहादुर महरा, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलगायतले आवेदन दिनुभएको छ ।

उत्साहपूर्ण तरिकाले लगानीकर्ताले शेयर खरीद गरेको भन्दै चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत कोइरालले आफूलाई हर्षित तुल्याएको प्रतिक्रिया दिनुभयो । जानकारहरुका अनुसार रसुवागढी जलविद्युत् कम्पनीको शेयरमा आवेदन गर्नेलाई ३० कित्ता शेयर पर्नसक्ने देखिएको छ ।
यस्तै साञ्जेन जलविद्युत् कम्पनीको साधारण शेयरमा लगानी गर्नेले २० कित्ता शेयर पाउन सक्ने देखिएको छ । आम नेपालीलाई जलविद्युत्को शेयर प्रदान गरी आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको हो ।

त्यसअघि माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् कम्पनीको साधारण शेयरमा समेत लगानीकर्ताले उल्लेख्य सहभागिता जनाएका थिए । रसुवामा निर्माणाधीन रसुवागढीको भौतिक प्रगति ७० प्रतिशत र माथिल्लो साञ्जेनको भौतिक प्रगति ७७ प्रतिशत र साञ्जेनको प्रगति ७० प्रगति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here