काठमाडौँको फोहर बञ्चरे डाँडामा

काठमाडौँ । शहरी विकास मन्त्रालयले आगामी असारबाटै फोहर विसर्जन गर्ने गरी बञ्चरे डाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणको काम तीव्ररुपमा अघि बढाएको छ ।

अहिले निर्माण कार्यअन्तर्गत माटो मिलाउने र ड्याम निर्माणको काम भइरहेको मन्त्रालयले जनाएको छ । अबको केही दिनमा उक्त काम सकी अन्य काम शुरु हुनेछ ।

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार वर्षा को समयमा काठमाडौँ उपत्यकामा बढी फोहर थुप्रने गर्दछ त्यसैले सबै फोहर विसर्जन गर्न नसके पनि असारबाट केही फोहर राख्न सकिने गरी निर्माणको काम भइरहेको छ ।

उहाँले भन्नुभयो, “पूर्णरूपमा काम सम्पन्न हुन तीन वर्ष लाग्छ, फोहर राख्ने स्थानको अभाव हुँदा ड्याम निर्माण गर्दै गर्ने र थोरै भए पनि फोहर पनि राख्ने काम गर्ने योजनामा मन्त्रालय रहेको छ ।” औपचारिकरूपमा निर्माण गत १२ गतेबाट शुरु गरिएको हो । एक महीनाको बोलपत्र आह्वान गर्दा निर्माणको जिम्मा लुम्बिनी कोशी न्यौपाने जेभीले पाएको छ ।

अहिलेसम्म डिजाइन र माटो परीक्षणको कामसँगै क्षेत्र निरीक्षणको काम पनि सकिएको छ । हाल फोहर व्यवस्थापन भइरहेको स्थान सिसडोलभन्दा दुई किलोमिटर पर निर्माण गर्न लागिएको दीर्घकालीन फोहर विसर्जनस्थल सम्म जान सडक विभागले बाटो निर्माणको काम पनि गरिरहेको छ ।

निर्माणका लागि मन्त्रालयले रु ३८ करोड बजेट छुट्याएको छ । मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको थियो । करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयलाई निर्माणको जिम्मा दिनुअघि उक्त स्थल निर्माणको काम स्थानीय तहले गर्ने कि केन्द्र सरकारले भन्ने विषय अन्योल थियो ।

निर्णयअनुसार बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले गर्ने र विजर्सनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिइएको छ । तेह्र वर्षदेखि सिसडोलमा काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ ।

उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

यता कामपाले वर्षात्को समयका लागि सिसडोलकै आसपासमा अल्पकालीन फोहर विसर्जनस्थल तोकेको छ । कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार वर्षा लागेसँगै फोहरको अनुपातमा वृद्धि हुने भएको र सिसडोलमा फोहर राख्न मिल्ने अवस्था नरहेकाले अन्यत्र स्थानको तय गर्नुपरेको हो ।

श्रेष्ठका अनुसार वर्षात्को समयका लागि हाल फोहर विसर्जन गर्ने स्थानभन्दा केही तल भिलेज वान र भिलेज टु मा तय गरिएको छ । तेह्र वर्ष अघि दुई वर्षका लागि भनेर काठमाडौँ उपत्यकाको फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । दीर्घकालीन फोहर विसर्जनस्थल निर्माण भइरहेको स्थान धादिङ र नुवाकोट जिल्लाको सिमानामा पर्दछ ।

दीर्घकालीन फोहर विसर्जनस्थल निर्माणको कामले गति लिएसँगै काठमाडौँ उपत्यकामा वर्षा लागेसँगै हुने फोहर थुप्रने समस्याबाट उपत्यकावासी मुक्त हुने कामपाको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here