वनमा पोखरी निर्माण

कावासोती । नवलपरासी पूर्व नवलपुरमा रहेका दुईवटा सामुदायिक वनले वन क्षेत्रमा कृत्रिम पोखरी निर्माण गरेका छन् । वन्यजन्तुलाई पानीको अभाव नहोस् भनेर सामुदायिक वनले कृत्रिम पोखरी निर्माण गरेका हुन् ।

विनयी त्रिवेणी गाउँपालिका–१, दुम्किबासमा रहेको विनयी सामुदायिक वन र मध्यबिन्दु नगरपालिमा रहेको अम्रसा सामुदायिक वनभित्र कृत्रिम पोखरी निर्माण गरिएको भू– तथा जलाधार व्यवस्थापन कार्यालय गण्डकी प्रदेश तनहुँका प्रमुख दिवाकर पौडेलले बताउनुभयो । विनयी सामुदायिक वनमा पोखरी निर्माणको काम सकिएको छ भने अम्रसा सामुदायिक वनमा निर्माण कार्य अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।

विनयी सामुदायिक वनमा भू–तथा जलाधार व्यवस्थापन कार्यालय गण्डकी प्रदेश तनहुँको रु दुई लाख ५९ हजार र वन समूहको रु ५३ हजार लागतमा पोखरी निर्माण गरिएको हो । अम्रसा सामुदायिक वनमा पोखरी निर्माण गर्न कार्यालयले रु दुई लाख ५९ हजार उपलब्ध गराएको उहाँले बताउनुभयो । गर्मीको मौसममा पानीका स्रोत सुक्ने हुँदा वनमा रहेका वन्यजन्तुलाई पानि पिउनसमेत अभाव हुने भएकाले वन क्षेत्रमा कृत्रिम पोखरी निर्माणको कार्य गरिएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।

पोखरीमा निरन्तर पानी रहोस् भन्नका लागि इनार खनिएको छ । सोही इनारबाट मोटरमार्फत पानी तानेर पोखरीमा पानीको कमी हुन नदिने व्यवस्था गरिएको विनयी सामुदायिक वनका कार्यालय सचिव मीना पौडेलले बताउनुभयो । सामुदायिक वनमा गैँडा, हरिण, मृग, बँदेललगायतका जनावरको वासस्थानसमेत रहेकाले उनिहरुलाई पानिको अभाव हुन नदिनका लागि कृत्रिम पोखरी निर्माण योजना बनाइएको कार्यालय सचिव पौडेलले बताउनुभयो ।

यता कावासोतीमा रहेको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा समेत वन्यजन्तुको स्थायी वासस्थान निर्माणका लागि सौर्य ऊर्जाबाट स्वचालित बोरिङ गाडिएको छ । गर्मी मौसममा हुने पानीको अभाव हटाउन वन क्षेत्रमा स्वचालित बोरिङ गाडिएको हो । गर्मी मौसममा वनभित्र सिमसारका क्षेत्र सुक्न जाँदा वन्यजन्तुका लागि पानीको अभाव हुने भएकाले पानीको स्रोत सुक्न नदीनका लागि स्वचालित बोरिङ गाडिएको सामुदायिक वनका कार्यवाहक अध्यक्ष नरबहादुर महतोले बताउनुभयो ।

पानीको अभावले वन्यजन्तु अन्यत्र जाने हुँदा स्थायीरुपमा बसिरहुन भन्नका लागि स्वचालित पानी तान्ने बोरिङ वन क्षेत्रमा गाडिएको बताइएको छ । अमलटारी घरवाससँगै रहेको वन क्षेत्र भएकाले यहाँ आउने पर्यटकलाई यसै वन क्षेत्रमा वन्यजन्तु अवलोकनका लागि लैजाने गरिन्छ । पानीको स्रोत नभए वन्यजन्तुसमेत अन्यत्र जाने र प्रत्यक्षरुपमा पर्यटनमा समेत प्रभाव पार्ने भएकाले आफूहरुले वन्यजन्तुको स्थायी वास स्थान निर्माण गर्न यस्तो पहल गरेको कार्यवाहक अध्यक्ष महतोले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here