गोदामचौर बलात्कार काण्ड, सामूहिक बलात्कारमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीमा ६० दिन जेल सजाय सदर

काठमाडौं । ललितपुरको गोदामचौरमा भएको सामुहिक बलात्कारपछि हत्या प्रयास सम्बन्धी घटनामा उच्च अदालत पाटनले जिल्ला अदालतकै फैसलालाई सदर गरेको छ । जिल्ला अदालतले सो घटनाका तीन जना अभियुक्तलाई दश वर्ष जेल सजाय सुनाएको थियो ।

सोमबार पाटन उच्च अदालतका न्यायाधीशहरु रमेशबहादुर थापा र यज्ञराज भट्टको इजलासले जिल्ला अदालतकै फैसलालाई सदर गरेको हो । जिल्ला अदालतले अभियुक्तहरू रघु सिलवाल, पवन कुवँर र विशालध्वज कार्कीलाई सामूहिक बलात्कारमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीमा ६० दिन जेल सजाय सुनाएको थियो । त्यसविरुद्ध उनीहरुले पाटन उच्च अदालतमा पुनरावेदन गरे पनि उच्च अदालतले जिल्लाकै आदेशलाई सदर गरेको हो । सबैभन्दा बढी सजाय मात्रै हुने भएकाले अभियुक्तहरू १० वर्ष मात्रै जेल बसे पुग्ने कानुनी व्यवस्था छ ।

ललितपुरको एक प्लास्टिक कम्पनीमा काम गर्ने ‘गोदामचौर क’ माथि २०७४ मंसिर २ गते साँझ सामूहिक बलात्कार भएको थियो । घटनाको भोलिपल्ट उनलाई घर नजिकैको खोला किनारमा रहेको तोरीबारीमा अर्धनग्न र बेहोस अवस्थामा प्रहरीले भेटेको थियो । घटनाको अनुसन्धानमा संलग्न प्रहरीका अनुसार युवतीको टाउकोमा ठूलो चोट देखिन्थ्यो । शरीरको तल्लो भागमा कपडा थिएन । दायाँ हात धेरै ठाउँमा भाँचिएको थियो । तिघ्रा, स्तनलगायतका स्थानमा नीलडाम देखिन्थ्यो । एउटा कानको लोती चुँडिएसरह थियो ।

घटनास्थलको मुचुल्का तत्काल बनाएर घाइते युवतीलाई पाटन अस्पताल लगिएको थियो । तर, टाउकोमा गम्भीर चोटसहित स्नायु प्रणालीमा आघात परेको देखिएकाले उनलाई तत्काल शिक्षण अस्पताल ‘रिफर’ गरिएको थियो । ऊनलाई ७ दिनसम्म आईसीयूमा राखिएको थियो । दाहिने हात टुक्राटुत्रा रूपमा भाँचिएको अवस्थामा भेटिएकी उनको स्टिल–सपोर्टमा हात जोडिएको थियो भने टाउकामा ३० भन्दा बढी टाँका लगाइएको थियो । राजधानीका अनुसार घटनाबारे राष्ट्रिय मानव अधिकार आयोग र महिला अधिकार आयोगले पनि अनुसन्धान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here