काठमाण्डौं । बंैकको एटिएम ह्याक गरेको पैसा सटही गरेका तीन जना नेपालीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
फरार रहेका चिनियाँ ह्याकरबाट नेपाली रुपियाँबाट अमेरिकन डलर सटही गरेका ठमेलस्थित डेसो मनि एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपालय मनि एक्सचेन्सका सञ्चालक रोशन प्रधान र प्रबन्धक रेवती दुवाडीलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार फरार रहेका तीन जना ह्याकरले एटिएमबाट निकालिएको रु २९ लाख ९९ बाट २९ हजार ८६२ अमेरिकी डलर शनिबार नै साटेका थिए । “हामीले ह्याकरलाई समातिरहेको थियौँ, तर त्यही बेला फरार रहेका अन्य तीन जना ह्याकरलाई ति मनि एक्सचेन्जका सञ्चालकले भने नेपाली नोट लिएर डलर दिए”, उहाँले भन्नुभयो, “ह्याक गरेको मुद्रा सटही गरेकाले हामीले उनीलाई पक्राउ गरेका हौँ ।”
उहाँका अनुसार अन्य ह्याकरलाई शनिबार समातिएको थियो भने ति मनि एक्सचेन्जका सञ्चालकले भने त्यही दिनदेखि फरार रहेका अन्य ह्याकरलाई मुद्रा सटही गरेर दिएको देखियो ।
तीनै जनालाई बंैकिङ कसुरसम्बन्धी मुद्दा दायर गरिएको उहाँले जानकारी दिनुभयो । चिनियाँ नागरिकले शनिबार नबिल बैंकको बुथको एटिएम प्रयोग गरेर प्रभु बैंक, एनआइसी एशिया, जनता, इन्भेष्टमेन्ट, कुमारी, ग्लोबल–आइएमइलगायत बैंकबाट रु एक करोड २६ लाख २९ हजार ह्याक गरेर निकालेका थिए ।
प्रहरीले ह्याक गरेर पैसा निकाल्ने पाँच जना चिनियाँ नागरिकलाई शनिबार र एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार पक्राउ गरिसकेको छ भने अन्य दुई फरार छन् । परिसरका प्रहरी नायब उपरीक्षक बोगटीले फरार रहेका दुई जनाको खोजि भइरहेको जानकारी गराउनुभयो ।


































