बुटवलमा गैंडाको खाग तस्करसँग प्रहरीको भिडन्त

बुटवल ः पश्चिम नेपालका तीनजना र काठमाडौं ठेगाना भएका एक जनासहित शनिबार साँझ सात बजेतिर बुटवलको सुख्खानगरस्थित न्यु कलश होटलमा बास बस्न आए । सामान्य झोला बोकेका उनीहरुले एउटा कोठा लिए । त्यो थियो कोठा नम्बर १०५ ।

कोठा नम्बर १०५ को भित्र ठूलै कारोबार थियो । त्यो कारोबारको वस्तु थियो, गैंडाको खाग (सिङ) । शंकास्पद व्यक्तिहरु होटलमा बस्न आएको खबर प्रहरीले पाइसकेको थियो ।

खाग नै छ भन्ने एकिन थिएन । रातभर त्यही सुतेका उनीहरुमध्ये एकजना सम्भवतः खाग बोकेर काठमाडौं जाने योजनामा थिए । तर उनीहरु निस्कन नपाउदै सादा पोशाकका दुई जना प्रहरी उनीहरु सुतेको ढोका ढकढकाउन पुगे । प्रहरीलाई पक्का थियो, उनीहरु केही अवैध गतिविधि गरिरहेका छन् । प्रहरीले कोठा बाहिरबाट चुकुल लगाइदियो ।

रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले उनीहरुले ढोका तोढेर बाहिर निस्किदा मुडभेड भएको बताए । ‘हाम्रा कर्मचारीले थप जनशक्ति मगाउदै गर्दा उनीहरुले ढोका तोडेर भाग्न खोज्दा मुठभेड भयो,’ उनले भने ।

तस्करकै समूहले प्रहरीबाट हतियार खोसेर प्रहरीलाई नै हान्दा उनकै समूहका राकेश न्यौपानेको चिउडोमा गोली लाग्यो । उनी होटलको गल्लीमै ढले । राकेशको ठेगाना काठमाडौं रहेको प्रहरीले बताएको छ । उनमा धेरै रक्तस्राव भयो ।

उनकै समूहका जाजरकोट घर भएका कर्णबहादुर राउत र सुर्खेतका भक्तबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनकै समूहका एक जना भने फरार भएका छन् । प्रहरीले घटनामा अनुसन्धान गरिरहेको जनाएको छ । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुका साथबाट एउटा गैंडाको खाग फेला परेको छ ।

प्रहरीले केही दिनअघि बुटवलबाटै चितुवाको छालासहित चार जनालाई पक्राउ गरेको थियो । शनिबार मात्रै ५ ट्रक गोरु प्रहरीले नियन्त्रणमा लिएको थियो । अन्नपुर्णका अनुसार पछिल्लो समयमा बुटवलमा तस्करी बढ्दै गरेको देखिएको छ ।

फोटोः अन्नपुर्ण पोष्ट

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here