काठमाडौँ , सरकारले जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका खरिद गर्न प्रक्रिया अगाडि बढाएको छ ।
पुस २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले रेल खरिद गर्ने निर्णय गरे संगै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागले रेल खरिदका लागि तयारी गरेको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा रेल खरिदका लागि ५० करोड विनियोजन गरेको छ । विभागकाअनुसार दुई रेल र त्यसमा रहने ५ देखि १० वटा डिब्बाका लागि कम्तीमा पनि एक अर्ब ५० करोड पर्छ । यसका लागि अर्थ मन्त्रालयबाट थप बजेट उपलब्ध हुने विश्वास लिइएको छ ।
जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि प्रक्रिया अगाडि बढिरहेका बेला सरकारले सरकारीस्तरबाटै रेलका इञ्जिन खरिद गर्न लागेको हो । सरकारीस्तरमा नै दुई वटा रेल खरिद गरिनेछ । त्यसका लागि विभागले भारतका सरकारी कम्पनीसँग प्रस्ताव गरेको छ । केही प्रस्ताव भने प्राप्त भइसकेको छ ।
रेलका साथै कर्मचारी तथा प्राविधिक पनि आवश्यक पर्ने भएकाले नेपाली प्राविधिक तथा कर्मचारीलाई तालीम दिन जुन कम्पनीसँग रेल खरिद गरिन्छ त्यसैसँग सम्झौता गर्ने तयारी विभागको छ । पहिलो चरणमा कूल ३५ किलोमिटर लामो उक्त रेलमार्गमा रेल चलाउने तयारी भएको छ । रेलमार्गमा एक चरणको परीक्षण सम्पन्न भइसकेको छ ।
बर्दिवास(जनकपुर(जयनगर(कुर्था(विजयपुराको कूल लम्बाइ ६९ किलोमिटर छ । त्यसमा पनि ३५ किलोमिटर रेलमार्ग निर्माण भइसकेर हस्तान्तरण गर्ने अवस्थामा पुगेको छ ।
पहिलो चरणमा जयनगर(कुर्था, दोस्रो चरणमा कुर्था(भङगहा १७ किलोमिटर तथा तेस्रो खण्डमा भङ्गहा(बर्दिवास १७ किलोमिटर गरी कूल ६९ किलोमिटर लामो रेलमार्ग विस्तार गरी सञ्चालनमा ल्याइनेछ ।
निर्माण भएको रेलमार्ग भने केही दिनभित्रै भारतीय पक्षले नेपाल सरकारलाई हस्तान्तरण गर्ने जानकारी गराएको छ । भारत सरकारको रु १० अर्ब सहयोगमा उक्त रेलमार्ग निर्माण भएको हो । निर्माण भएको रेलमार्ग ब्रोडगेज हो ।