कोशीमा रोकियो सोलार तारबारको काम

प्रकाशपुर, सुनसरी । हात्तीबाट पीडित हुँदै आएका कोशी टप्पु वरीपरीका बासिन्दाले हात्तीको आवतजावतलाई रोक्न निर्माण गर्न थालिएको सोलार तारबारको कामलाई रोकेका छन् ।

कोशी टप्पु वन्यजन्तु आरक्षले निर्माण गर्न थालेको ‘अफसेट सोलार फेन्सिङ’ कार्यलाई स्थानीयले रोके पछि काम हात्ती नियन्त्रणका लागि गर्न थालिएका काम अवरुद्ध भएको छ ।

जंगली हात्तीलगायतका वन्यजन्तुहरुलाई मानव बस्तीमा पस्नबाट रोक्ने उद्देश्यले सुनसरीको कोसी गाउँपालिका वडा नम्बर ७ हरिपुरको नेपाली सेनाको क्याम्पदेखि दक्षिण तर्फ वडा नम्बर ८ भण्टाबारीसम्मको काम स्थानीयले गर्न नदिएको कुरा आरक्षले जनाएको छ ।

७४ लाख रुपैयाँको लागतमा निर्माण हुन थालेको अत्याधुनिक प्रविधियुक्त अफसेट सोलार फेन्सिङको काम अवरोध आएपछि अहिले ठेकेदारले काम गर्न नसक्ने बताएको आरक्षका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिए ।

तारबार लगाउन अवरोध गरिएको क्षेत्र

खतिवडाका अनुसार १० किलोमिटर फेन्सिङका लागि गतवर्ष नै ठेक्का लगाइए पनि कोरोना महामारीका कारण वजेट फ्रिज भएको थियो । सो कामका लागि रकम पुनः माग गरी आरक्षलाई रकम प्राप्त भएपनि काम भने हुन सकेको छैन ।

कार्ययोजना अनुसारको पाँच किलोमिटरमा काम सहज रुपमा सम्पन्न भएको छ तर कोशी नदीको पूर्वी तटबन्ध बुधनी ड्याम देखि भन्टाबारीसम्म बाँकी पाँच कि.मि. क्षेत्रमा काम रोकिएको छ ।

यद्दपी आरक्ष प्रशासनले सार्वजनिक भेला बोलाई काम सम्पन्न गर्ने वातावरण सिर्जना गर्ने प्रयास जारी राखेको जनाएको छ ।

हाल अवरोध भएको क्षेत्रमा स्थानीयले अतिक्रमण गरी खेतिपाती लगाउने गरेका छन् । तारबार लगाएपछि आवतजावत रोकिने भएकाले स्थानीयले तारबारको काममा अवरोध गरेका हुन् ।

प्रमुख संरक्षण अधिकृत खतिवडाले भने, मध्यवर्ती क्षेत्र पर्ने त्यस क्षेत्रको डुवान क्षेत्रमा वर्षाैँ देखि केही व्यक्तिहरुले गैरकानूनी तरिकाले खेतिपाती लगाउदै आएका थिए । सो काम रोकिने डरले त्यस्ता व्यक्तिहरुले बिरोध गरेका छन् । जसले गर्दा काम नै अवरुद्ध हुने परिस्थिति आयो ।

आरक्ष प्रशासनले गर्न लागेको घेराबेरा स्थानीयवासीले रोकेपछि सहमति जुटाउने उद्देश्यले आरक्ष प्रशासन र स्थानीय जनप्रतिनिधिबीच पटक पटक छलफल र बैठक बसे पनि निष्कर्षविहीन बनेको छ ।


आरक्ष प्रशासन र स्थानीय जनप्रतिनिधिबीच बैठक

स्थानीयबासीहरुले आफूहरूले वर्षाैंदेखि मध्यवर्ती क्षेत्रको ऐलानी जग्गामा खेतिपाती गर्दै आएको बताउँदै भण्टाबारीसम्म घेराबेरा गरिएमा जीविकोपार्जन गर्न, गाईवस्तु चरिचरन गराउन समस्या हुने बताउदै आएका छन् ।

यो क्षेत्रमा हरेक वर्षको भदौ महिनादेखि खेतीबाली खान जंगली हात्ती बस्तीमा पस्ने गरेका छ । हरेक वर्ष हात्तीले मानवीय, भौतिक क्षति गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here