निकुञ्जमा दुई जना डाक्टर थपिए

काठमाडौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका दुई जना अधिकारी विद्यावारिधी उपाधीबाट दिक्षित भएका छन् ।

विभागका इकोलोजिष्ट गणेश पन्तले अष्टे«लियाबाट र संरक्षण अधिकृत अशोककुमार रामले भारतको विश्वविद्यालयबाट सो उपाधी प्राप्त गरेका हुन् ।


डा.गणेश पन्त

पन्तले एक सिङे गैडाका विषयमा र अशोक रामले हात्तीका विषयमा शोध अध्ययन गरेर सो उपाधी लिन सफल भएका छन् ।

पन्तले अष्टेलियाको युनिभर्सिटी अफ साउदर्न क्वीन्सल्यान्डबाट एक सिङे गैँडाको बासस्थानमा जलवायु परिवर्तनको असर, जोखिम तथा अनुकुलन योजना बारे शोध अध्ययन गरेका छन् । पन्त

सोही विश्वविद्यालयबाट सन् २०१३ मा वातावरणीय व्यवस्थापनमा स्नातकोत्तर पास गरेका थिए । सन् २०१० मा पोष्ट ग्रयाजुएट डिप्लोमा इन वाइल्डलाइफ म्यानेजमेन्टमा वाइल्डलाइफ इन्स्च्यिूट अफ इण्डिया देहरादुनबाट गरेका थिए ।

शुक्लाफाँटा, बाँके, सगरमाथा, चितवन राष्ट्रिय निकुञ्ज, वन तथा वातावरण मन्त्रालयमा काम गरिसकेका पन्त हाल विभागको इकोलोजिष्टको जिम्मेवारी बहन गरिरहेका छन् ।

अध्ययनशिल र सकारात्मक सोचका साथ काम गर्ने व्यक्तिको छाप बसालेका पन्तका अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धानमूलक लेख, रचनाहरु प्रकाशित भइसकेका छन् ।

अशोक रामले भारतको वाइल्ड लाइफ इन्स्च्यिूट अफ इण्डियाबाट नेपालको तराई र चुरेमा हात्तीको बासस्थान, हात्तीसँगको मानवको द्वन्द्व र हात्ती व्यवस्थापनका विषयमा शोध अध्ययन पूरा गरेर विद्यावारिधीको उपाधी हात पार्न सफल भएका छन् ।

स्नातकोत्तर वन विज्ञानमा पूरा गरेका अशोकले विद्यावारिधी भने वाइल्डलाइफ साइन्समा गरेका छन् । स्नातकोत्तर गर्दा पनि पूर्वी नेपालमा हात्तीको ओहोरदोहोर र मानव वन्यजन्तु द्वन्द्वमा थेसिस गरेका अशोक रामले २०५२ सालमा रेञ्जर पदमा जागिर सुरु गरेका थिए ।

१५ वर्ष रेञ्जर पदमा बसेर २०६७ साल सहायक संरक्षण अधिकृत भएका उनले कोशीटप्पु, चितवन, बर्दिया, अपीनाम्पा, पर्सा, खप्तड राष्ट्रिय निकुञ्जमा काम गरेका छन् ।

रेञ्जर पदमा काम गर्दा खप्तड, चितवन, लामटाङ, कोशी टप्पु वन्यजन्तु आरक्षमा काम गरेको अनुभव बटुलेका छन् ।

डा.अशोककुमार राम

नेपालमा हात्तीको समस्या व्यवस्थापनमा कुशल रुपमा काम गर्ने व्यक्तिका रुपमा पहिचान बनाएका अशोकका हात्ती सम्बन्धी लेख रचनाहरु अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भइरहेका छन् ।

सन् २०२२ मा निकुञ्ज विभागले गैँडा र हात्तीमा विद्यावारिधी गर्ने दुई जना अधिकारी एकै पटक पाएको छ ।

विभागमा हात्ती र गैँडा विज्ञको उपस्थितिले आगामी दिनमा ती वन्यजन्तुसँग सम्बन्धित समस्या आइपर्दा सहज रुपमा समाधानको बाटो पहिल्याइने अपेक्षा गरिएको छ । पछिल्ला दिनमा मानव वन्यजन्तु द्वन्द्वमा गैँडा र हात्तीको ठूलो प्रभाव परिरहेको छ ।

विद्यावारिधी गर्ने जनशक्ति थपिँदै

विशेष गरी वन्यजन्तुको संरक्षणको जिम्मेवारी पाएका विभागमा पछिल्ला दिनमा वन्यजन्तु विशेषज्ञहरु उत्पादन हुन थालेका छन् । विभागका महानिर्देशक रामचन्द्र कँडेल अर्नाका विषयमा विद्यावारिधी प्राप्त गरेका बरिष्ठ अधिकारी हुन् ।

यस अघि विभागका सहायक संरक्षण अधिकृत भएर काम गरेका मन्त्रालयका सहसचिव राधा वाग्लेले पनि हाल विद्यावारिधी उपाधी हासिल गरीसकेकी छन् ।

विभागका अन्य अधिकारीहरु पनि विद्यावारिधीको लाइनमा रहेका छन् । बाँके राष्ट्रिय निकुञ्जमा कार्यरत श्यामकुमार साह बाघको विषयमा विद्यावारिधी गर्दै छन् भने हालै पदोन्नती भएर विभागको उपमहानिर्देशक भएका अजय कार्कीले पनि वाइल्डलाइफ बायोलोजीमा अमेरिकाबाट विद्यावारिधी गर्ने तयारी गरिरहेका छन् ।

विभागका अर्का संरक्षण अधिकृत अमिर महर्जन बाघमा विद्यावारिधीका लागि अष्ट्रेलिया उड्ने तयारीमा छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत बिष्णुप्रसाद श्रेष्ठ, इकोलोजि शाखाका कार्यरत हेमराज आचार्य पनि विद्यावारिधीको लागि जुटि रहेका छन् ।

विभागका उपमहानिर्देशक बेदकुमार ढकाल र चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत हरिभद्र आचार्यले पनि विद्यावारिधीका लागि छलफल चलाएको लामो समय भइसकेको छ ।

डाक्टरहरुको विभाग

विभागका महेश्वर ढकालले जापानबाट विद्यावारिधी गरेका छन् । उनी सहसचिव भएपछि हाल राष्ट्रपति चुरे विकास समितिमा सदस्य सचिव पदमा कार्यरत छन् । ढकालले यस अघि विभागमा इकोलोजिष्ट भएर काम गरेका थिए ।

आफ्नो समयमा निकै चर्चा कमाएका झमक कार्की र नरेन्द्रबाबु प्रधान पनि विद्यावारिधी उपाधी प्राप्त गरेका छन् । कार्कीले बाघमा, प्रधानले हात्तीमा विद्यावारिधी गरेका थिए । कार्की र प्रधान हाल विभाग बाहिर रहेका छन् ।

यस अघिका उदयराज शर्मा र कृष्णप्रसाद आचार्यले पनि विद्यावारिधी गरेका थिए । शर्मा र आचार्य सचिव पदबाट सेवा निवृत भइसकेका छन् ।

लामो समय विभागको महानिर्देशक भएर काम गरेको स्वर्गीय तीर्थमान मास्के पनि विद्यावारिधी प्राप्त अधिकारी थिए । हाल अमेरिकामा बस्दै गरेका पूर्व महानिर्देशक हेमन्त मिश्र पनि विद्यावारिधी प्राप्त व्यक्ति हुन् ।

विभागमा कार्यरत विजय कटेल र महेन्द्र श्रेष्ठ पनि विद्यावारिधी प्राप्त व्यक्ति हुन् । कटेल र श्रेष्ठ हाल अमेरिकामा बस्दै गरेका छन् ।

विभागको महानिर्देशक भएर काम गरेका अन्नपूर्णनन्द दास र स्वयम्भुमान अमात्य पनि विद्यावारिधी प्राप्त व्यक्ति हुन् । अमात्य र दास अन्य समुहका व्यक्ति भएपनि विभागमा आउँदा विद्यावारिधीको टोपी लगाएर आएका थिए ।

विभागको महानिर्देशक भएर काम गर्नुभएका हालका सचिव पेमनारायण कँडेल र सहसचिव दीपक खराल पनि विद्यावारिधी उपाधिबाट दिक्षित हुन् । विभागमा लामो समय काम गरेका हाल वनस्पति विभागका महानिर्देशक बुद्धिसागर पौडेलले पनि विद्यावारिधी हासिल गरेका छन् ।

विभागको इतिहासदेखि वर्तमानसम्म शुक्ष्म अवलोकन गर्दा निकुञ्ज विभाग दक्ष जनशक्ति भएको विभागको रुपमा देखिएको छ । अबको केही वर्षभित्र विभागमा बाघ, हात्ती र गैडा जस्ता ठूला वन्यजन्तुका विज्ञहरुको जमघट हुने स्थिति देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here