आतङ्क मच्चाउने चितुवा पर्यो फन्दामा

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराको कान्लेमा गाउँमा पसेर आतङ्क मच्चाएको चितुवा नियन्त्रणमा लिइएको छ । आइतबार बिहानैदेखि जङ्गलबाट निस्केको चितुवा गाउँ डुल्न थालेपछि स्थानीयवासी तर्सिएका थिए ।

आइतबार राति चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयले जनाएको छ । कान्लेको पाखो नजिकैको खोल्सामा बसेको चितुवा लठ्ठिएका अवस्थामा रहेको बताइएको छ । चितुवा घर–घरमै पुगेपछि स्थानीयवासीले लखेटेका थिए । पानीको ताल रहेको खोल्सामा पुगेपछि चितुवा त्यहीँ बसिरहेको अवस्थामा नेपाल प्रहरी, नेपाली सेना र सब डिभिजन वन कार्यालय कुश्मीशेराको सक्रियतामा नियन्त्रणमा लिइएको डिभिजन वन अधिकृत मुकुन्द अधिकारीले जानकारी दिनुभयो ।

“हामीले जङ्गलतर्फ भगाउनका लागि धेरै प्रयास गरिसक्यौँ, केही गर्दा चलेन” प्रहरी हबल्दार नवराज रिमालले भन्नुभयो, “चितुवा लठ्ठिएका अवस्था थियो, वनको अनुमतिमा नियन्त्रणमा लियौं ।” चितुवालाई आज सदरमुकाम बागलुङ बजारमा रहेको डिभिजन वन कार्यालयमा ल्याईंदै छ । “यहाँ ल्याएर चितुवाको अवस्था बुझ्छौं, समान्य अवस्था भए वनमा छोडिदिने हो, बिरामी भए उपचार गरेर छोड्छौं ” डिभिजन वन अधिकृत अधिकारीले भन्नुभयो, “असामान्य अवस्थामा रहेको खबर छ, पशु चिकित्सकको सहयोगमा उपचार हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here