‘नेपालको कुरा कोप २८ मा उठाउने छु’

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रसले जलवायु परिवर्तनको असरले नेपालले ठूलो क्षति व्यहोरिरहेका बेला विकसित राष्ट्रबाट नेपालले क्षतिपूर्ति पाउनु पर्ने बताएका छन् ।


नेपालको भ्रमण सकेर फर्किने क्रममा उनले नेपालजस्तो अल्पविकसित मुलुकलाई जलवायु अनुकुलनका कार्यक्रम सञ्चालन गर्न विकसित मुलुकहरुले आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्नेमा जोड दिए ।


उनले नेपाल भ्रमणले जलवायु परिवर्तनको असरको सँग्लो स्वरुप देख्न पाएको बताए । उनले भने जलवायु परिवर्तनको असरले भावी पुस्ता होइन, आज हामीलाई नै आक्रान्त पारिसक्यो । अब त्यस विरुद्ध लड्न सुत्ने बेला होइन, अब त जाग्ने बेला भइसक्यो ।


उनले विकसित मुलुकले गरेका कार्यहरुले नेपाल जस्ता हिमाली मुलुक पीडित हुनु न्यायसंगत नभएको पनि बताए । उनले भने, नेपालको यो कुरा मैले कोप २८ मा गम्भीरतापूर्वक उठाउने छु ।


उनले गत महिना मात्रै जलवायु कार्यका लागि दीर्घकालीन लगानीमा कम्तीमा पाँच खर्ब प्रतिवर्ष वितरण गर्न संयुक्त राष्ट्रसङ्घमा प्रस्ताव गरेको समेत जानकारी दिए । उनले पेरिस सम्झौता कार्यान्वयन हुन नसकेको प्रति चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here