मान्छेको गास खोसेर बाँदरलाई खान दिइने छैन : वन मन्त्री ठकुरी

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले मुलुकभरी बाँदरको बिगबिगी बढिरहेको अवस्थामा सरकार बाँदर नियन्त्रणका लागि सबै उपायहरु अपनाउन तयार रहेको बताएका छन् ।


संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले आयोजना गरेको बाँदरको समस्या र नियन्त्रणका उपाय विषयक छलफल कार्यक्रममा वन मन्त्री ठकुरीले भने,मान्छेको गास खोसेर बाँदरलाई खान दिइने छैन, किसानले मिहिनेत गरेर लगाएको अन्न बाली खेतबारीमै बाँदरले खाइदिँदा मान्छेले के खाने ? यसका लागि सरकार सजग र सचेत छ । किसानले लगाएको खेतबाली सुरक्षित साथ भित्रयाउन पाउन पर्छ । बाँदर नियन्त्रणका लागि सरकार गम्भीर छ ।


विशेष गरी पहाडी क्षेत्रका गरिव किसानले लगाएको बालीनालीमा रातो बाँदरले नोक्सानी गर्न थालेको प्रति आफूले दैनिकजसो पत्रपत्रिकामा समाचार देख्ने र सुन्ने गरेको बताउँदै मन्त्री शाहीले भने, गरिवको खाने गास बाँदरले खाइदिँदा गरिव किसानको अवस्था कस्तो होला ? यी ज्यादै गम्भीर र बिचारणीय कुरा छन् । यो अति नै सम्वेदनशिल विषय हो ।


समितिमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री ठकुरीले भने, रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेर खेतबारीमा आउँदा किसानले बाँदर धपाउन सक्ने, लखेट्न सक्ने, पक्रन सक्ने व्यवस्था गर्न सकिन्छ । त्यसका लागि मन्त्रालयले सबै सरोकारावालाहरुसँग छलफल गर्नेछ ।


मन्त्री शाहीले रातो बाँदरले मुलुकभरी समस्या सिर्जना गर्न थालेपछि यसलाई मेडिकलको प्रयोजनका लागि अध्ययन, अनुसन्धानमा पनि प्रयोग गर्न सकिने, कुनै स्थानमा बाँदर पार्क निर्माण गरेर पर्यापर्यटनको विकासका लागि लगाउन सकिने, बाँदरको बन्ध्याकरण गरेर पनि नियन्त्रण गर्न सकिने जस्ता विकल्पका बारे मन्त्रालयले अध्ययन गरिरहेको बताए ।


उनले भने, विद्यमान ऐन, कानूनको व्यवस्था र नेपालले अन्तर्राष्ट्रिय स्तरका गरेको सन्धी, सम्झौतालाई हेरेर आवश्यक सबै पहलकदमीहरु लिन सरकार तयार छ । यसका लागि व्यापक छलफल र बहस आवश्यक छ । छलफलमा उनले सबैभन्दा बढी बाँदरको समस्या गुल्मी, डडेल्धुरा, सल्यान, अर्घाखाँची, दैलेख लगायतका जिल्लामा रहेको बताए ।


प्रतिनिधि सभा सदस्य बीरबहादुर बलाएरले बाँदर नियन्त्रण गर्न भारत पठाईएका कृषि तथा वन प्राविधिकहरुलाई परिचालन गरेर भएपनि तत्काल बाँदर नियन्त्रण गर्नुपर्ने धारणा राखे । उनले भने, भारतबाट सिकेको शीप र दक्षतलाई अब नेपालका बाँदर नियन्त्रणमा लगाउनु पर्ने देखियो । यसका लागि तत्काल कार्यक्रम सञ्चालन गरौँ ।


छलफलमा गाउँपालिका महासंघका लेखनाथ पोखरेलले गाउँघरमा रातो बाँदरको आतंकले बालबालिकाले विद्यालय जान नसकेको बताए । उनले भने, वृद्धवृद्धालाई बाँदरले टेर्दैन, महिलालाई झन झम्टिन आउन्छ । अनि अभिभावकले दिनभरी मजदुरी गर्दा स्कुले बालबालिकाले मकैबारी रुग्नु परिरहेको छ । यस्तो अवस्था कहिलेसम्म हुने हो ?


उनले भने, बाँदरले दुख दिन थालेपछि एक घर एक कुकुर अभियान सञ्चालन गरियो । केही बाँदरले कुकुरलाई एकातिर अलमल्याएर अरु बाँदरले खेतीबाली खाने गरेको पनि देखियो । बाँदर डराउन्छ भनेर बाघको आकृति भएको बजार पाइने कुरा पनि राखियो, मान्छे उभिएको चित्र पनि राखियो तर एक दुई दिनपछि त्यही बाघको आकृतिको छेउको बोटमा बाँदर भेटिन थाल्यो । गाउँघरमा खेतीबाली बचाउन सबै प्रयास भएका छन् तर उपाय केही लागेको छैन । अब खेतीबाली भित्रयाउन नपाईने अवस्था हुने दिन आए ।

मन्त्री ठकुरीले भने, रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेर खेतबारीमा आउँदा किसानले बाँदर धपाउन सक्ने, लखेट्न सक्ने, पक्रन सक्ने व्यवस्था गर्न सकिन्छ । त्यसका लागि मन्त्रालयले सबै सरोकारावालाहरुसँग छलफल गर्नेछ ।


उनले भने, कि बाँदर मार्ने अनुमति चाहियो कि सरकारले खेतीबाली बराबरको अन्न दिनु पर्यो । होइन भने चौबिसै घण्टा लठ्ठी समातेर कसैले पनि बाँदरको गोठालो लाग्न सक्ने अवस्था छैन । सरकार गम्भीर हुनुपर्यो ।


छलफल पश्चात समितिले बाँदर लगायतका वन्यजन्तुको क्षति न्यूनीकरण गर्ने अल्पकालिन, मध्यकालिन, दीर्घकालिन उपाय बारे एक महिनाभित्र अध्ययन गरी प्रतिवेदन पेश गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here