विद्युतीय चुलोको प्रवद्र्धन गरिने

ललितपुर । परम्परागत चुलोमा खाना पकाउन प्रयोग हुने दाउराको खपतले घरभित्रको वायु प्रदूषण र वन जङ्गलको विनाशले जनस्वास्थ्य र अनेक वातावरणीय समस्या निम्त्याउने गरेकाले त्यसको न्यूनीकरणका लागि विद्युतीय चुलोको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । नेपालमा अहिले पनि ६१ प्रतिशत जनता खाना पकाउन दाउरामा भर पर्ने गरेको र भान्छाको धुवाँजन्य रोगहरुका कारण वार्षिक २२ हजारभन्दा बढी मानिसको अकालमा ज्यान जाने गरेको यहाँ आयोजित कार्यशालामा जानकारी दिइयो ।


क्लिन कुकिङ एलायन्स(सिसिए)को आयोजनामा भएको सो कार्यशालामा स्वच्छ भान्छा निर्माणका लागि उपभोक्ताहरुको सोच र व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा सहभागी वक्ताहरुले जोड दिए । आधुनिक चुलोको प्रयोगबाट स्वास्थ्य र वातावरणमा मात्र नभई आर्थिक हिसाबले पनि निकै सस्तो पर्ने भएपनि उपभोक्तामा यससम्बन्धी ज्ञानको अभाव हुँदा जनचेतनामूलक कार्यक्रमहरुमार्फत उनीहरुको व्यवहार र क्षमता अभिवृद्धि गर्नु आवश्यक रहेको वक्ताहरुको भनाइ थियो ।
मुलुकमा विद्युत् उत्पादनमा बृद्धि भएसँगै खाना पकाउने इन्धनको रुपमा विद्युतीय चुलोको प्रवद्र्धन गरी सन् २०३० सम्म पूर्णरुपमा स्वच्छ भान्छा बनाउने सरकारको लक्ष्य रहेको बताउँदै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कायमुकायम कार्यकारी निर्देशक नवराज ढकालले सरकारले श्वेतपत्रमार्फत घरघरमा विद्युतीय चुलोको अभियानलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।
एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र(इसिमोड) का महानिर्देशक डा डेभिड मोल्डेनले वायु प्रदूषणका कारण जलवायु परिवर्तनको समस्यालाई बढाएको र यसले पर्वतीय मुलुकहरुमा अझ बढी असर पु¥याएकाले वातावरणीय स्वच्छता कायम राख्न र जनस्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन घरभित्रको वायु प्रदूषणको समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
क्लिन कुकिङ एलायन्सका प्रमुख कार्यकारी अधिकृत डेम्फना भान डेर लान्सले विश्वका १० देशमा स्वच्छ भान्छाको अभियान सञ्चालन गरिएको र तीमध्ये दक्षिण एशियामा नेपाललगायत भारत र बङ्गलादेशमा तीन वर्षदेखि सञ्चालन भएको स्वच्छ भान्छाका लागि व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रम निकै प्रभावकारी रहेको बताउनुभयो ।


सो अवसरमा नेपाल, भारत र बङ्गलादेशमा सञ्चालन भएको स्वच्छ भान्छा अभियानको व्यवहार परिवर्तन कार्यक्रमका बारेमा प्रस्तुतीकरण गरिएको थियो । नेपालमा काभे्रपलाञ्चोकको पाँचखाल र मदनदेउपुर नगरपालिमा सञ्चालन भएका कार्यक्रमका बारेमा लिडर्स नेपालका धीरज पोखरेल, अजम्बरी विकास फाउण्डेशनका सुवर्ण कपाली र जुनकिरी इनिसेटिभका खुश्वु सरकार श्रेष्ठले प्रकाश पार्नुभएको थियो । इसिमोडका भूपेश अधिकारीले वायु प्रदूषण नियन्त्रणमा सो संस्थाले गरेका अनुसन्धान र विभिन्न क्रियाकलापहरुका बारेमा जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here