चीन जोड्ने नाका दुई लेनको बनाइँदै

काठमाडौँ । चीन र भारत जोड्ने रणनीतिक महत्वको कालिगण्डकी करिडोरको मुस्ताङ खण्ड यसै वर्ष भित्र ग्राभेल हुने भएको छ ।
उत्तरी सीमाना चीननसँग जोडिएका आठ नाका नियमित सञ्चालन गर्ने सरकारको तयारीसँगै यस वर्ष मुस्ताङ खण्ड ग्राभेल गर्नेगरी काम भइरहेको छ । ११० कि.मी जोमसोम–कोरल्ला खण्डलाई चालु वर्ष भित्रै ग्राभेल सम्पन्न हुने भएको छ ।

सडक खण्डको लोमाङथान गाउँपालिकाको छोसेरदेखि नेपाल चीनको नाका कोरल्लासम्मको १६ किलोमिटर सडकलाई दुई लेनको ग्राभेल गरि सकिएको छ । नेपाल भारत सिमा रुपन्देहीको बेहलियादेखि चीन सिमा कोरल्लासम्म जोड्ने ३७० किमी मध्य रुपन्देही खण्ड २९ किमी, पाल्पा खण्ड ७२ किमी, गुल्मी खण्ड ४२ किमी, बागलुङ खण्ड ४५ किमी र बेनी–कोरल्ला खण्ड ११० किमी सडक मध्य केही ठाउँको चलनचल्तीको सडक बाहेक नयाँ ट्रयाक खोलिएको सडकको एकैसाथ स्तरउन्नतीको काम भइरहेको आयोजनाले जनाएको छ ।

जोमसोमदेखि कोरल्लासम्मको सडकलाई सात खण्डमा विभाजन गरेर काम भइरहेकोमा चिसोका कारण सडक निर्माणको काम अवरुद्ध भएपनि चिसो घटेपछि कामलाई निरन्तरता दिइने सडक आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिनुभयो । सडकको सात खण्ड मध्य एक खण्ड सम्पन्न भइसकेको, पाँच वटा खण्डमा ९० प्रतिशत काम सकिएको र एक खण्डको समर–भियनामा कडा चट्टानभएकाले रक्षा मन्त्रालयको विष्फोट अनुमति पछि बैशाख भित्रै चट्टान फोडेर सडकको स्तरउन्नती गरिने आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।

आयोजनाका इन्जिनियर जगत प्रजापतीका अनुसार करिडोर खण्डको बेनी–जोमसोम सडक खण्डमा पनि धमाधम काम भइरहेको छ । अहिले मुस्ताङको लेतेदेखि जोमसोमसम्मको ४० किलोमिटर सडक खण्डको ग्राभेल गर्ने काम अन्तिम चरणमा पुगेकाले बैशाखबाटै कालोपत्रे गर्ने तयारीमा छौं, उहाँले भन्नुभयो । उपल्लो मुस्ताङ क्षेत्रमा ९० प्रतिशत काम सम्पन्न भएपनि चार प्याकेजमा काम भइरहेको ७४ किलोमिटरको बेनी–जोमसोम सडक खण्डमा ४५ प्रतिशत काम भएको आयोजनाले जनाएको छ ।

अर्को तर्फ यो करिडोरको बागलुङ खण्डलाई १० मिटर चौडा पार्ने काम नेपाली सेनाले गरिरहेको छ । एक वर्ष अगाडि ट्रयाक खोली यातायातका साधनहरु सञ्चालन गर्न योग्य बनाइ सकिएको भएपनि अन्र्तराष्ट्रिय स्तरको सडक बनाउन सडक चौडा गर्ने थालिएको नेपाली सेनाको निर्माण कार्यदलले जनाएको छ । करिडोर खण्डको रिडी–परादी १७ किमी सडक १० मिटर चौडा बनाइ सकिएको छ भने बागलुङ खण्डको मालढुङ्गादेखि पालुङखोलासम्मको सडकलाई १० किमी सडकलाई १० मिटर चौडा गर्नेगरी काम भइरहेको नेपाली सेनाको निर्माण कार्यदल प्रमुख रेश्मीराज भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here