मदिरा विरुद्धको अभियानमा सक्रिय रहेको अछाम प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैद्य घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । जिल्लाका विभिन्न प्रहरी चौकीहरुबाट परिचालित प्रहरीले साँफेबगर, घुघुरकोट, बयलापाटामा रहेका विभिन्न पसलहरुबाट अवैद्य घरेलु मदिरा नियन्त्रणमा लिएर सार्वजनिक रुपमा नष्ट गरेको अछाम प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय घुघुरकोट प्रहरी टोलीले साँफेबगर नगरपालिका–१० तुफानडाँडामा रहेको पुर्णबहादुर खड्काको पसलबाट २८ टाइगर वियर, ४९ वटा क्वालिटी क्वाटर, सोही नगरको वार्ड नं ४ का ज्ञानेन्द्र स्वाँरको पसलबाट चार लिटर, साँफेबगर हाटबजारका मिनबहादुर कुँवरको पसलबाट चार लिटर, हिरेन्द्र कुँवर र मोहन विकबाट पाँच÷पाँच र केशरी कुँवरबाट १० लिटर मदिरा बरामद गरेर नष्ट गरिएको अछाम प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिनुभयो । यस्तै चौरपाटी गाउँपालिकाको लुंग्राका नरबहादुर धामीबाट १० लिटरका साथै डोटी घर भइ साँफेबगर नगरपालिका– ३ का निरज खड्काको पसलबाट एक लिटर घरेलु मदिरा बरामद गरेर नष्ट गरिएको बताइएको छ ।
अछाम जिल्लामा पछिल्लो समय प्रहरीले घरेलु मदिरा नियन्त्रणमा सक्रिय भइरहेको छ । मदिराकै कारण जिल्लामा महिला हिंसा, अपराधजन्य घटना र शान्ति सुरक्षामा अवरोध भएको निष्कर्ष सहित प्रहरीले घरेलु मदिरा नियन्त्रणमा केन्द्रीत भएको डिएसपी शाहीको भनाइ छ । जिल्लामा घट्ने हरेक घटनामा मदिरा रहेको जिल्लाका सार्वजनिक कार्यक्रममा उठ्न थालेपछि प्रहरी घरेलु मदिरा नियन्त्रमा लागेको बताइएको छ ।