एम्बुलेन्सको भाडादर निर्धारण


माघ १४ गते । ताप्लेजुङमा सञ्चालन हुने एम्बुलेन्सको स्थानीय भाडादर निर्धारण गरिएको छ । जिल्ला एम्बुलेन्स सञ्चालन समिति ताप्लेजुङले माघ १३ गते आइतबारदेखि लागू हुनेगरी एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरेको हो ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला एम्बुलेन्स सञ्चालन समिति अध्यक्ष अनुज भण्डारीको अध्यक्षतामा शुत्रबार बसेको बैठकले भाडा दर निर्धारण गरेको हो । एम्बुलेन्स सेवको भाडादर सात वर्षपछि निर्धारण गरिएको हो । यसअघि २०६८ सालमा एम्बुलेन्सको भाडादर निर्धारण भएको समितिले जनाएको छ । प्रजिअ भण्डारीले सडकको नयाँ ट्रयाक खुलेका र कुनै ठाउँमा सडक स्तरोन्नति भएको अवस्थालाई मध्यनजर गरी नयाँ भाडा दर निर्धारण गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार केही पक्की तथा स्तरोन्नति भएका सडकमा पहिलेकोभन्दा भाडा दर घटाएर निर्धारण गरिएको छ । सदरमुकाम फुङ्लिङस्थित जिल्ला अस्पताललाई मुख्य आधार बनाई भाडा दर निर्धारण गरिएको हो । फुङ्लिङ बजार क्षेत्रभित्र एम्बुलेन्सको नयाँ भाडा दर चार सय रुपियाँ कायम गरिएको समिति सदस्य तथा रेडक्रस ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङले जानकारी दिनभयो ।
गुरुङका अनुसार बजार क्षेत्रदेखि नजिक आसपासका क्षेत्रमा दुरी तथा सडकको अवस्थालाई ध्यानमा राखी पाँच सय, सात सयदेखि आठ सय रुपियाँसम्म नयाँ भाडा दर निर्धारण गरिएको छ । यस बाहेक जिल्ला अस्पतालबाट दूरी र सडक अवस्थाअनुसार जिल्लाभित्र सडकको पहुँच पुगेका ठाउँसम्म अर्थात एम्बुलेन्स सेवा प्रवाह गर्न सकिने ठाउँका लागि एक हजारदेखि नौ हजार रुपियाँसम्म नयाँ भाडा दर निर्धारण गरेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here