काठमाडौं । खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको व्यवहारले चिडिएको मेलम्चीको निर्माणको ठेकेदार ईटालियन कम्पनी सीएमसी अझै सम्पर्कमा आउने छाँटकाँट देखिएको छैन । सरकारले उसलाई दिएको अन्तिम म्यादको अवधि सकिनै लाग्दा पनि उसले कुनै सम्पर्क शुत्र प्रयोग नगरेको देखिँदा ठेकेदार कम्पनी सीएमसीले काममा नफर्किने संकेत देखिएको छ । मेलम्ची विकास समितिले सो कम्पनीलाई काममा फर्कन दिएको अन्तिम समयसीमा आउँदो मंगलबार सकिने भएको छ । आइतवारसम्म सो कम्पनीले कुनै ‘रेस्पोन्स’ गरेको छैन ।

समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलका अनुसार पत्राचार गरेको लामो समय बितेपनि आइतवारसम्म निर्माण कम्पनी सम्पर्कमा आएको छैन । १४ दिनको म्याद सहित माघ २२ गतेसम्मको म्याद सहित सम्झौता तोड्ने आसयको पत्र सरकारले उसलाई पठाएको थियो ।
समितिका कार्यकारी निर्देशक कँडेलले भन्नुभयो “अझै दुई दिन बाँकी छ, अन्तिमसम्म आउँछकी भन्ने आशा पनि गर्न सकिन्छ छ तर पनि आउने पनि कुनै संकेत देखा परेको छैन ।’
सो कम्पनी निर्माणको काममा नफर्किएमा अधुरो रहेको काम सम्पन्न गर्न दुईवटा विकल्प समितिले अगाडि सारेको छ । पहिलो विकल्प द्र्ूत मार्गबाट काम गर्नुपर्ने प्रस्ताव अघि सार्ने योजना सरकारले बनाएको छ । त्यसमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ६६ तथा सार्वजनिक खरिद नियमावली २०६४ को दफा १ सय ४५ अनुसार बिशेष परिस्थितिको अवस्थाको कारण जनाई खरिद गर्ने प्रक्रिया पु¥याएर मौजुदा सप्लायर्स तथा भेण्डरहरूलाई नै प्रयोग गरी छिटो प्रक्रियाबाट काम सम्पन्न गर्ने योजना सरकारले बनाएको छ । त्यसका लागि तीनदेखि चार महिनाको अवधि तोकिने भएको छ ।

दोस्रो विकल्पमा नियमित खरिद प्रक्रियालाई लिइएको छ । जसमा सार्वजनिक बोलपत्र आव्हानमै ३ देखि ९ महिना लाग्ने र काम सम्पन्न गर्न दुई देखि तीन वर्ष लाग्ने अनुमान गरिएको छ । यद्धपी यी दुबै विकल्पहरूका बारेमा सरकारले बिशेष परिस्थितिको घोषणा गरी निर्णय गर्नुपर्ने समितिले जनाएको छ ।