नेपाल टेलिकमले ल्यायो अन्तर्राष्ट्रिय रोमिङ

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई प्रिपेड मोवाइलमा पनि रोमिङ सेवा उपलब्ध गराउने भएको छ । यस अघि टेलिकमले पोष्टपेड मोवाइलमा मात्र यस्तो सेवा उपलब्ध गराउँदै आएको थियो । टेलिकले आफ्नो बार्षिकोत्सवको अवसर पारेर यो सेवा सुचारु गर्न लागेको हो । देश बाहिर तत्कालका लागि छिमेकी मुलुक चीन र भारतमा प्रिपेडका लागि यो सेवा उपलब्ध हुने भएको छ ।
टेलिकमले ‘आउट वाउण्ड रोमिङ’ सेवा सुरु गरेको हो । निकट भविष्यमै अन्य देशमा जाने नेपालीका लागि आफ्नै देशको मोबाइल सेवामार्फत आफ्ना आफन्तसँग कुराकानी गर्नसक्ने गरी व्यवस्था गरिने छ । प्रिपेड सेवा लिएका नागरिकले बिना धरौटी त्यस्तो सुविधा लिन पाउने भएका छन् । मोबाइलमा जे जति मात्रामा रकम रहेको छ , सोही आधारमा फोन गर्न पाउने छन् ।
यसअघि पोष्टपेड सेवा लिएको ग्राहकले रु दश हजार धरौटी राखेर रोमिङ सेवा लिँदै आएका थिए । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सेवा र सुविधालाई थप विविधकरण गर्दै लैजाने सोचका साथ नयाँ–नयाँ योजना अगाडि सारिएको बताउनुभयो ।


यस्तै टेलिकमले आजदेखि लागू हुने गरी जिएसएम पोष्टपेड ग्राहकलाई रु नौ सयको प्याकेजमा प्रति महिना दुई जिबी डाटा उपलब्ध गराउने भएको छ । यही माघ २३ गतेदेखि आगामी फागुन ८ गतेसम्म दर्ता हुने नयाँ जिएसएम पोष्टपेड मोबाइल ग्राहकलाई तीन महिनासम्म प्रति महिना ‘अल टाइम’ डाटा एक जिबी र १०० मिनेट बराबरको टेलिफोन सुविधा उपलब्ध गराउनेछ ।
पर्यटकीय प्याकेजअन्तरगत रु ५०० मा पाँच जिबी डाटा, नेपाल टेलिकमको संयन्त्रमा ५० मिनेट टेलिफोन गर्ने सुविधा र ५० एसएमएस र १०० मिनेटको अन्तर्राष्ट्रिय फोन गर्नसमेत सकिनेछ ।
यस्तै रु एक हजारमा १० जिबी डाटा र टेलिकमकै संयन्त्रमा १०० मिनेट फोन गर्ने सुविधा, १०० वटा एसएमएस र २०० मिनेट बराबरको अन्तर्राष्ट्रिय फोन गर्नसक्ने सुविधा दिइएको छ ।

टेलिकमको आम्दानी ४५ अर्ब
टेलिकमले आर्थिक वर्ष २०७४र७५ मा रु ४५ अर्ब २७ करोड बराबरको नाफा गरेको छ । आव २०७३र७४ मा रु ४४ अर्ब ५९ करोड आम्दानी गरेको थियो । कम्पनीको खुद नाफा १३।७३ प्रतिशतले वृद्धि भई आव २०७४र७५ मा रु १७ अर्ब ४८ करोड पुगेको छ भने कम्पनीको प्रतिशेयर आम्दानीमा वृद्धि भई आव २०७४र७५ मा ११६।५६ प्रतिशत पुगेको छ ।
टेलिकमले सरकारी राजश्वमा उल्लेख्य योगदान गरेको छ र आगामी वर्ष पनि सो जारी रहने उल्लेख छ । कम्पनीले आव २०७४र७५ मा कर तथा गैरकर वापत कूल रु २६ अर्ब ६५ करोड २० लाख सरकारी कोषमा योगदान गरेको छ । कम्पनीको कार्ययोजनाअनुसार आय र मुनाफामा वृद्धि हुँदा सरकारी राजश्वमा स्वतः वृद्धि हुने दावी छ । कम्पनीका अनुसार गत मङ्सिरसम्म ग्राहक सङ्ख्या दुई करोड १० लाख ९८ हजार पुगेको छ । आव २०७३÷७४ मा एक करोड ७६ लाख दुई हजार ग्राहक रहेकोमा १३।५१ प्रतिशतले वृद्धि भई २०७५ असार मसान्तसम्म एक करोड ९९ लाख ८० हजार पुगेको थियो । हाल टेलिघनत्व ७२।५० प्रतिशत पुगेको छ ।
कम्पनीले मुलुकको ७७ जिल्ला र सातै प्रदेशमा तारसहित र ताररहित सेवा तथा डाटा सेवा सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here