काठमाडौँ । सरकारले जनतासँग रहेको ससानो पूँजी संलकन गरेर जलविद्युत् आयोजना निर्माणका लागि जनताको जलविद्युत् आयोजना कार्यक्रम बिहीवारबाट ल्याएको छ ।
यो कार्यक्रमका लागि सरकारले प्रदेश २ बाहेक अरु सबै प्रदेशमा गरी १९ वटा आयोजना छनौट गरेको छ । प्रदेश १मा बिभिन्न ६ वटा आयोजनाबाट कुल १ हजार ७५१ मेगावाट, प्रदेश २ मा दुई आयोजनाबाट १३३ मेगावाट र गण्डकी प्रदेशबाट चार वटा आयोजनबाट ४७५ मेगावाट, प्रदेश ५ मा भेरी बबई डाइभर्सनबाट ४८ मेगावाट, कर्णाली प्रदेशका तीन वटा आयोजनाबाट ६४९ मेगावाट र सुदूरपश्चिम प्रदेशबाट तीन वटा आयोजनाबाट ४२३ मेगावाट निकाल्न सकिने आयोजना छनौट गरेको छ ।
नेपालको पानी जनताको लगानी ः हरेक नेपाली विद्युत्को शेयरधनी भन्ने मूल मन्त्रका साथ शुभारम्भ गरिएको कार्यक्रममा आगामी ३५ दिनभित्र अर्थात् चैत ७ गते शेयर भर्न सकिने ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले जनाएको छ ।
यी आयोजना निर्माणका लागि कुल छ खर्ब ९५ अर्ब ८५ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । यसको कुल ७० प्रतिशत ऋणबाट र ३० प्रतिशत नेपालका स्वपूँजी संकलन गर्ने भनिएको छ । ३० प्रतिशत हुन आउने रकमको ५१ प्रतिशत सरकारका बिभिन्न निकायले हाल्ने र ४९ प्रतिशत जनताबाट संकलन गर्ने भनिएको छ । प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई पनि १० प्रतिशत शेयर दिइने योजना सरकारले सुनाएको छ ।