काठमाडौँ । जनताको जलविद्युत् कार्यक्रम बिहीवार प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको छ ।
नेपालको पानी जनताको लगानी: हरेक नेपाली विद्युत्को शेयरधनी भन्ने मूल मन्त्रका साथ शुभारम्भ गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालीसँग सबै कुरा भएर पनि गरिव भएकाले समृद्ध नेपाल र सुखी नेपाली बनाउन यो महत्वकांक्षी कार्यक्रमको आरम्भ गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, खोलामा पानी बग्दैछ तर हाम्रा खेत बाँझै छन् । नदीमा निरन्तर पानी बगिरहेको छ । तर हामी भारतबाट बिजुली ल्याएर बालि रहेका छौँ । अब भारतबाट बिजुली ल्याइन्न । नेपालको पानीबाट बिजुली बालिन्छ ।
उहाँले १०७ वर्ष पुरानो नेपालको बिजुली इतिहास रहेको व्याख्या गर्दै नेपालका ऊर्जा विकासबाटै समृद्ध हुने पनि बताउनुभयो । उहाँले भन्नुभयो, अब नेपालको चिनारी फेरिनेछ । गरिब नेपाल होइन, नेपालका परिचय फेरिएर बिकासिल देश नेपाल बन्नेछ ।
खोलामा पैसा हाले पैसा चलायमान भएर कोष वृद्धि हुने भन्दै नेपालीलाई धनी बनाउने खोलामा लगानी गर्न सरकारले सबै नेपालीलाई आग्रह गरेको बताउनुभयो ।
आउँदो चैत ७ गते यो कार्यक्रम अन्तर्गत पहिलो शेयर आफुले लिने घोषाणा गर्नुभएका प्रधानमन्त्री ओलीले स्वदेश तथा विदेशमा बसेका सबै नेपालीलाई जलविद्युत्मा लगानी गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा ऊर्जा मन्त्री वर्षमान पुनले सबै नेपालीको सहभागितामा नेपालको ऊर्जा विकाससँगै समृद्धिको यात्रा तय भएको घोषणा गर्नुभयो । उहाँले आकर्षक तथा नाफामूलक ऊर्जा क्षेत्रमा गरेको राम्रो प्रतिफल आउने भएकाले सबै नेपालीले यो कार्यक्रम अन्तर्गतका आयोजना निर्माणमा लागि शेयर हाल्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
प्रदेश २ बाहेक अरु ६ वटा प्रदेशमा १९ वटा जलविद्युत् आयोजनाको छनौट गरी सर्वसाधारणको लगानीका लागि सरकारले ३५ दिन भित्र शेयर आव्हान गर्ने भएको छ ।