बाँदरका लागि डेढ करोड खर्च !

खोटाङ । विकास गर्न एक लाख रुपियाँ नपाएर गाउँपालिका, नगरपालिका घेरेको समाचार सुनिने गरेको थियो । तर बाँदर नियन्त्रण गर्न डेढ करोड रुपियाँ खर्च हुन लागेको सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । बाँदर नियन्त्रणका लागि पनि भारतीय दक्ष जनशक्तिको प्रयोग गरिन थालिएको सुन्दा झन अनौठो लाग्नु स्वभाभिकै हो । यो कुरा यथार्थ हो ।

कुरा खोटाङ जिल्लाको हो । बाँदरले लगाएको बाली नोक्सानी गर्न थालेपछि हैरानी खेपिरहेका जिल्लाका किसानहरुले बाँदर आतंक रोक्न डेढ करोड रुपियाँ खर्च गर्ने भएका छन् ।

खेतबारीमा लगाईएका अन्नबाली, तरकारी तथा फलफूल नोक्सानी गर्न थालेपछि किसानहरुले बाँदर नियन्त्रण गर्नको लागि शक्तिशाली बाँदर नियन्त्रण तथा व्यवस्थापन समिति बनाएर बाँदर नियन्त्रण गर्न रकमको जोहो गरेका हुन् ।

बाँदर नियन्त्रण गर्नका लागि गठित सो समिति खोटाङले प्रारम्भिक कार्य शनिबारबाट सुरु गरेको कुरा समितिका अध्यक्ष दुर्गा घिमिरेले बताउनुभयो । जिल्लामा मात्र १५ हजार भन्दा बढी संख्यामा बाँदर रहेको अनुमान गरिएको छ ।

जिल्लामा १० वटा गाउँपालिका रहेका छन् । सबै गाउँपालिका बाँदरको आतंकबाट प्रताडित हुँदै आएका छन् । बाँदरले खेतबारीको अन्नबाली मात्र नभई घरमा थुपारे राखेको अन्नबाली तथा अन्य सामान समेत नोक्सान गर्न थाल्दा किसानहरुले यस्तो उपाय लगाएको बताएका छन् । बाँदरले नोक्सानबाट जिल्लाभरी कम्तिमा एक बालीको १५ करोड रुपियाँ भन्दा बढीको नोक्सानी हुने गरेकोले बाँदर आतंक नियन्त्रण गर्न डेढ करोड रुपियाँ जति खर्च गर्न सकिने कुरामा किसान सहमत भएका हुन् ।

बाँदर नियन्त्रण गर्न गाउँ गाउँमा टोली बनाइएका छन् । त्यो टोलीलाई खान, बस्न तथा खर्चका लागि किसानले रकम उठाएका छन् । बाँदर समात्न सक्ने र भगाउने सक्ने भारतको बिहारका आएको एउटा टोलीलाई अग्रिम रकम समेत बुझाइसकिएको अध्यक्ष घिमिरेले बनाउनुभएको छ । किसानले रकम उठाउन थालेपछि नगरपालिका र गाउँपालिकाले पनि १० देखि १५ लाख रुपियाँसम्म दिन थालेको छ । पछिल्लो चरणमा बाँदर आतंक समस्याको रुपमा देखा पर्न थालेपछि बिभिन्न जिल्लाका धेरै जसो स्थानीय तहले बाँदर आतंकलाई न्यूनीकरण गर्न बजेट विनियोजन गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here