सल्यान । सल्यानका वन जंगलमा फल्ने स्वादिलो टिमुर युरोपका बजारमा पुग्न थालेको छ ।
गत वर्ष सल्यानबाट करिब ४० करोड रुपियाँको टिमुर यूरोपको मुलुक फ्रान्सेली बजारमा पुगेको छ । डिभिजन वन अधिकृत थिरबहादुर कार्कीले सो कुराको पुष्टि गर्नुभएको छ ।
उहाँका अनुसार गत वर्ष राम्रो मूल्यमा बिक्री भएकाले यो वर्ष झन राम्रो मूल्य पाउने आशामा हालसम्म पनि किसानले टिमुर बिक्री गरिरहेका छैनन् ।
यस वर्ष कुपिन्डे, निगाल चुला, माँझकाडा लगायतका क्षेत्रबाट मात्रै पाँच करोड रुपियाँ भन्दा बढीको टिमुर निकासी भएको उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका टिमुर विज्ञ गिरिधर अमात्यले जानकारी दिनुभएको छ ।
पछिल्ला वर्षमा किसानले टिमुरको राम्रो मूल्य पाएपछि सल्यानका किसानले अरु बाली लगाउनुभन्दा बारीका डिल, कान्लामा र सामुदायिक वनका उपभोक्ता व्यवसायिक टिमुर खेती गर्न थालेका छन् । गत वर्ष ६ लाख किलो टिमुर जिल्लाबाट बाहिरिएको बताइएको छ । यो वर्ष कम्तिमा १० लाख किलो टिमुर उत्पादन भएको अनुमान गरिएको छ ।
पहिलो वर्ष ६०० किलो टिमुरको तेल उत्पादन भएको थियो । यस वर्ष एक हजार ५०० किलोग्राम तेल उत्पादन गर्ने लक्ष्य राखिएको छ । टिमुरको तेल प्रति किलो १७ हजार रुपियाँमा बिक्री हुदै आएको छ ।