जहाँ गहिरो, त्यही ठूलो पहिरो !

बाजुरा । भनिन्छ, जहाँ गहिरो, त्यही पहिरो । प्रकृतिको न्याय प्राकृतिक धरातलमा हुन्छ भन्थे । तर प्रकृतिले पनि प्राकृतिक धरातलमा बसेर न्याय गर्दैन रहेछ । गरिव, भोकमरी, अनिकाल, अशिक्षा व्याप्त रहेको ७५ जिल्ला रहेको बेला मानव सूचाङ्कमा ७५ औँ जिल्ला पर्ने बाजुरालाई विगतमा राज्यले पनि पछाडी पारेकै हो । विकासमा हेपेकै हो ।

सडक सञ्जालले जोडेको एकाध वर्ष पनि पूरा भएको छैन । अब त केही होला भन्ने बेला जिल्लाका ९ वटा गाउँपालिका र नगरपालिकाका ९५ बस्ती नै बाढी, पहिरोको जोखिममा परेका छन् । हरेक बर्खाका बेला घरभन्दा घरबाहिरको बास यहाँका बासिन्दाको हुने गरेको छ ।

बाजुराका अधिकांश भूमि सेतो कमेरो सहितको भएकाले यहाँका बस्ती वर्षेनी जोखिममा पर्दै आइरहेका छन् । बस्तीमाथिबाट आउने पहिरो र बस्ती तलको भाग खस्किदै जाने समस्याले यहाँका बस्ती देशभरमै सबैभन्दा बढी जोखिममा रहेका राष्ट्रिय योजना आयोगद्धारा गरिएको प्राविधिक विज्ञको अध्ययन प्रतिवेदनमा समेत उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार जोखिमका रहेको ९५ बस्ती मध्य निकै उच्च जोखिममात्रिवेणी नगरपालिका र दोस्रोमा बडिमालिका नगरपालिका बस्तीहरु रहेका छन् ।

जिल्लास्थित प्रकोप व्यस्थापन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका जोखिममा रहेका बस्तीको पहिचान गरी सो बस्तीलाई स्थान्नातरण गर्नुपर्ने निर्णय गरेको प्रजिअ बरालले बताउनुभयो । जसमा त्रिवेणी नगरपालिकाको वडा नं १ को विशालबजार, सल्लेरी, वडा नं ४ को पिपलसैन, राउतेला, वडा नं ५ को किम्नीको ढोड क्षेत्र रहेको छ । वडा नं ६ को गैरा, पन्धारागाउँ, फल्नेतोला–८ को पन्ताली, ढडाली, बाँगापाटा, कालापानी, गिरीवाडा, नेपालीटोल, ९ को ताम्सु, नुवाकोटको बस्ती जिल्लाकै उच्च जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै त्रिवेणीपछि दोस्रो जोखिममा रहेको बडिमालिका नगरपालिकामा १५ बस्ती उच्च जोखिममा रहेका छन् । समितिले उच्च जोखिममा रहेका ९५ मध्ये तत्काल स्थानान्तरणका लागि बडिमालिका नगरपालिका वडा नं १ को सल्लेना, २ को मैमातोला विष्टवाडा, बथानलेख–७ को जिल्ली, ३ को उखाडीलगायतका बस्ती सिफारिश गरेको छ । जोखिममा रहेका बस्तीको स्थानान्तरण तथा व्यवस्थापनाका लागि शहरी विकास तथा भवन निर्माणका लागि सिफारिश गरिएको समितिका सदस्य कृष्ण अधिकारीले बताउनुभयो ।

सरोकारवालासँग छलफल गरी बस्ती जोखिममा रहेको पहिचान गरेको अधिकारीले बताए । त्यस्तै अन्य कतिपय गाउँपालिकाको पनि बस्ती जोखिममा रहेको र स्थानान्तरणको लागि सिफारिश गरिएको जनाइएको छ ।

त्यस्तै सबैभन्दा कम जोखिममा रहेको जगन्नाथ गाउँपालिकाका बस्ती रहेका छन् । हिमाली गाउँपालिकामा भने बस्ती जोखिम कम भए पनि स्थानान्तरण गर्नुपर्ने बस्ती भने धेरै रहेको प्रजिअ बरालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here