स्वरोजगारको माध्यम च्याउ

लमही । पछिल्लो समय दाङमा च्याउखेती स्वरोजगारको माध्यम बनेको छ । तुलसीपुर उपमहानगरपालिका–१८ स्थित हेमन्तपुरमा सञ्चालन भइरहेको च्याउ खेतीबाट २५ किसान स्वरोजगार बनेका छन् ।

नेपाल सरकार कृषि मन्त्रालय, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको आर्थिक सहयोगमा सञ्चालित व्यावसायिक च्याउखेतीबाट पछिल्लो समय महिला स्वरोजगार बन्न थालेका किसान चित्रा धितालले बताउनुभयो । “पहिलो हामी चुलोचौको मै सीमित हुन बाध्य थियौँ”, उहाँले भन्नुभयो, “तर अहिले च्याउ खेती शुरु गरेपछि हामी महिला स्वरोजगार बन्न थालेका छौँ ।” प्रगति महिला समूहको उप–आयोजनामा रोजगारी र किसानको आयस्तरमा वृद्धि गर्न चालू आर्थिक वर्षदेखि च्याउ खेति शुरु गरिएको हो ।

मासिक करीब छ हजार किलो च्याउ उत्पादन हुने गरेको समेत उहाँको भनाइ छ । अहिले स्थानीयस्तरमा मात्रै बिक्री भइरहको उक्त च्याउलाई केही समय पछि जिल्लाभर नै पु¥याउने लक्ष्य रहेको उक्त संस्थाका अध्यक्षसमेत रहनुभएका धितालले बताउनुभयो । मन्त्रालयको रु तीन लाख ४३ हजार अनुदान र संस्थाको रु दुई लाख २८ हजार २३७ को लागतमा च्याउ खेती सञ्चालनमा आएको हो ।

अहिले तीन टहरामा च्याउ खेती भइरहेको र अन्य दुई टहरा बनिरहेकाले अहिले च्याउ राख्न समस्या रहेको छ । साथै च्याउखेतीका लागि आधुनिक टहरा र आधुनिक चुलोको आवश्यकता रहेको र यसको लागि स्थानीय सरकारसँग पहल भइरहेको अध्यक्ष धितालले जानकारी दिनुभयो ।

चालू आवदेखिनै शुरु भएको उक्त च्याउखेती वडाकै नमूना भएको तुलसीपुर–१८ का अध्यक्ष माधव ओलीले बताउनुभयो । वडाले एक घर एक रोजगारीको अवधारणालाई उक्त च्याउ खेतीले सहयोग पु¥याएको समेत वडाध्यक्ष ओलीले बताउनुभयो । हाल वडाका नागरिकलाई उद्यममा लाग्न आफूहरूले प्रेरित गरिरहेको समेत उहाँले जानकारी दिनुभयो । उहाँले वडाका किसानलाई क्षमता विकास तालीम, बिउबिजन, पशुपालनलाई प्रोत्साहन गर्न पशु वितरण गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here