महोत्तरी । महोत्तरीका बिभिन्न खोला तथा नदीमा नदीजन्य पदार्थ जथाभावी रुपमा भइरहेको उत्खनन कार्यलाई नियन्त्रण गर्न अवैध क्रसर उद्योग बन्द गरिन थालिएको छ ।
जिल्ला समन्वय समिति महोत्तरीले अनुगमन तीव्र बनाएसँगै अवैध क्रसर उद्योग धमाधम बन्द गरिएका छन् ।
जिल्लाका बर्दिवास, गौशाला, भङ्गाहा र औरही नगरक्षेत्रका नदी र नदीउकास क्षेत्रमा बग्रेल्ती सञ्चालनमा रहेका क्रसर उद्योगले ती ठाउँमा अनियन्त्रित दोहन गरेर प्राकृतिक सम्पदालाई कुरुप र जोखिमयुक्त बनाएको गुनासो बढ्दै गएपछि समितिले स्थलगत अनुगमन शुरु गरेको हो । क्रसर उद्योगले तटबन्ध निर्माण गरिएका ठाउँ र वृक्षरोेपण क्षेत्रमा उत्तखनन गरेर बनाएका ठूलठूला खाल्डाले तटबन्ध भत्कने र वनक्षेत्रका रुख ढल्ने अवस्था देखिएको समितिका प्रवक्ता सुदीपकुमार झाले बताउनुभयो ।
उद्योग सञ्चालनका लागि स्थानीय तह र जिल्ला समन्वय समितिबाट लिनुपर्ने स्वीकृतिको समेत बेवास्ता गर्दै क्रसर सञ्चालकले मनपरी उत्खनन गरिरहेका पाइएको समितिले जनाएको छ । जिल्लामा कानूनअनुसार अभिलेखीकरण भएका छ मात्र क्रसर उद्योग देखिए पनि चार वटै नगरक्षेत्रमा ५० भन्दा बढी सञ्चालनमा भेटिएका छन् ।
यसअघि नदी र नदी उकास क्षेत्रमा अवैध र अनियन्त्रित दोहन बढेको व्यापक गुनासो बढेपछि जिल्ला समन्वय समितिले गत बुधबार जिल्लाका सबै क्रसर उद्योग बन्द गरेर स्थलगत अनुगमन गरी नयाँ अनुमति दिने निर्णय गरेको थियो ।
क्रसर उद्योगले ठूलठूला मेसिनको प्रयोग गर्दै २५ फिट गहिरोसम्म खाल्डो खनेका र वातावरण जोखिम अध्ययन प्रतिवेदनको पूरै बेवास्ता गरेका पाइएको छ ।
स्थानीय तहले विज्ञहरू परिचालित गरी बनाएको वातावरण जोखिम अध्ययन प्रतिवेदनमा कानूनअनुसार अनुमति पाएका उद्योगले नदीका दुवै किनारमा ५० फिट छाडेर तीन फिटसम्मको खाल्डो खनेर बालुढुङ्गा निकाल्न सक्ने मापदण्ड बनाए पनि अनुमति नै नलिएर जथाभावी उत्खनन बढाएपछि यसलाई नियन्त्रण गर्न स्थलगत अनुगमन थालिएको समितिले जनाएको छ ।
जिल्लाका चुरे पहाडी शृङ्खला, नदी र नदीउकास क्षेत्रमा अनियन्त्रित दोहन बढेपछि खानेपानीका मुहान सुक्दै गएको, सिमसार क्षेत्र, जलाधारक्षेत्र र वनक्षेत्र मासिदै गएर बाढीबाट डुवान र कटान बढ्दै गएको वनविज्ञहरूले चिन्ता जनाउँदै आएका छन् ।