विप्लवका १० नेता कार्यकर्ता पक्राउ

चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहका सात जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये छको म्याद थप गरिएको छ भने एक जना आज बिहान मात्र पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार फागुन २९ गतेदेखि आजसम्म जिल्लाका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा विप्लव समूह निकट जिल्ला सचिवालय सदस्य राजकुमार तिमिल्सिना, अखिल क्रान्तिकारी वीरेन्द्र बहुमुखी क्याम्पसका एकाइ अध्यक्ष विक्रम न्यौपाने, राप्ती नगरपालिका जनसरकार प्रमुख गुणराज श्रेष्ठ, जिल्ला सदस्य वीरबहादुर तामाङ, अखिल क्रान्तिकारी चितवन यातायात व्यवसायी सङ्घका अध्यक्ष मित्र केसी र चितवन १ नम्बर इलाका इञ्चार्ज जयबहादुर कुँवर रहेका छन् ।

आज बिहान पक्राउ परेका व्यक्तिको विषयमा अनुसन्धान भइरहेकाले नाम सार्वजनिक गर्न नमिल्ने रेग्मीले बताउनुभयो । भरतपुर महानगरपालिका–५ को कार्यालयमा विष्फोट गराएको अभियोगमा मुद्दा दर्ता गरी फरार रहेका १५ जनाको खोजी भइरहेको उहाँले बताउनुभयो । पक्राउ परेकालाई बम विष्फोट र सङ्गठित अपराधअन्तर्गत मुद्दा दर्ता गरिएको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जिल्लामा विप्लव समूहका नेताको खोजीकार्य भइरहेको बताउनुभयो । स्थानीय प्रशासनले जिल्लामा घर भई बाहिर कार्यक्षेत्र रहेका केन्द्रीय नेतामाथि पनि निगरानी बढाएको उहाँले बताउनुभयो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेले नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ । सोमबार र मङ्गलबार गरी तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरी नियन्त्रणमा पर्नेमा समूहका तथाकथित जनसरकार प्रमुख, सैन्य प्रमुख, न्यायिक कमिटीका इन्चार्ज छन् । उनीहरूमध्ये केहीलाई एनसेल टावरमा बम विस्फोट गरेको आरोप छ । सरकारले समूहको गतिविधिमा प्रतिबन्ध लगाएपछि बाँके प्रहरीले समूहका नेता तथा कार्यकर्तामाथि निगरानी र खोजी कार्य शुरु गरेको छ । शान्ति सुरक्षामा खलल पुग्ने कुनै काम कसैबाट हुन नदिन प्रहरीले निगरानी गरिरहेको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here