पूर्वसांसदसँगै सिनियर डिभिजनल इञ्जिनीयर जेल चलान

सप्तरी । कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइत जेल चलान भएका छन् ।

उच्च अदालत जनकपुर राजविराज इजलाशले भदौ ३० गते थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न दिएको आदेशअनुसार सोमबार अदालतमा हाजिर भएका गोइतलाई राजविराज कारागारमा थुनामा पठाएको अदालतले जनाएको छ । जिल्ला अदालतले गत जेठ ६ गते उहाँलाई रु चार लाख धरौटीमा पुर्पक्षका लागि तारेखमा रिहा गरेको थियो । जिल्ला अदालतको बेरितको आदेश बदर गर्दै गोइतले साधारण तारेखमा रिहा गर्न माग गर्नुभएको थियो ।

उच्च अदालत जनकपुर राजविराज इजलाशले उहाँलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश ग¥यो । सोही मुद्दामा पूर्वसांसद तथा राजपा नेपालका केन्द्रीय सदस्य बिपी यादव भनिने विश्वनाथप्रसाद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य हरिनारायण मण्डल कारागारमा थुनामा छन् । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका तथा छिन्नमस्ता गाउँपालिकामा प्रदेश नं २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सञ्चालित सडक निर्माण योजनाका लागि कीर्ते गरी उपभोक्ता समिति बनाएको तथा सरकारी कार्यालयको कागजात कीर्ते गरेको अभियोगमा यादव र मण्डल गत वैशाख ५ गते पक्राउ परेका थिए ।

पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका सिनियर डिभिजनल इञ्जिनीयर रहेका बेला गोइतले राजपा नेपालका केन्द्रीय सदस्य एवं पूर्वसांसद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य मण्डलसँग मिलेर सरकारी कार्यालयको कागजात कीर्ते गरी भ्रष्टाचार गरेको अभियोग छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here